गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी अन्दाजी ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित गत शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन्।
गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो । त्यसपछि गिरीले वडा कार्यालयबाट गाउँमा आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित गरिबीको पत्र बनाएका थिए ।
सोही पत्रका आधारमा चन्दा उठाएर मादक पदार्थ सेवन गरी छोरीसहित झम्मन सम्पर्कविहीन भएको स्थानीय मानबहादुर कुँवरले जानकारी दिए । धुर्कोटकै हुलाकेमा खिचेको उनीहरूको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो भाइरल भएसँगै बाल अधिकारकर्मी, महिला अधिकारकर्मीलगायतले बालिकाको खोजी गरिरहेका छन् ।
गिरीको घरमा एक वर्षयता बाबुछोरी मात्रै बस्दै आएका थिए। सन्तानमा उनकी एक्ली छोरी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण अधिकारीले बाबुछोरीको खोजतलासी गर्ने कार्य जारी रहेको बताए । मातहतका सबै निकायमा जानकारी गराएको र उनीहरूको लोकेसन पत्ता लगाउने काम भएको अधिकारीले जानकारी दिए ।
प्रकाशित: २४ चैत्र २०८२ १७:०५ मंगलबार





