२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै धनकौलीका कृषक

तरकारी उत्पादनको हब मानिएको कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० धनकौलीका कृषकहरूले मौसमी फल तरबुजा खेतीबाट समेत वार्षिक डेढ लाख सम्म आम्दानी गर्ने गरेका छन्।

बगरमा फल्ने चिसो फलका रुपमा रहेको तरबुजा उत्पादन गरी उनीहरूले राम्रो आम्दानी गर्ने गरेका हुन्।

धनकौलीको मोतिनगर, गगनी र हर्दासडिहवा लगायतका गाउँका सय बढी कृषकहरूले बाणगंगा नदीको निक्खर जमिनमा  तरबुजा र खरबुजा उत्पादन गरी राम्रो आम्दानी गर्ने गरेका छन्। उनीहरूले बाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा उत्पादन गरेका छन्।

नदीको निक्खर र सुख्खा बालुवामय बगर बनेको जग्गामा समेत नमुनाका रूपमा उनीहरूले उक्त चिसो फल उत्पादन गरी ५० हजार देखि डेढ लाख बढी आम्दानी गरेका छन्। कृषकहरूले ३ देखि १० कट्ठा सम्म खरबुजा लगाएका छन्। वैशाख दोस्रो साता देखि कृषकहरूले खरबुजा बेच्न सुरु गरेका हुन्।

सोही वडाको देवपुरका कृषक बहराईची केवटले सोही वडामा रहेको सानो चेत्रादेई गाउँमा १० कट्ठा खेतमा महेन्द्रा जातको तरबुजा फलाएर राम्रो आम्दानी गरेका छन्। नदीको बगरमा तरबुजा खेती गर्ने गरिएमा उनले तेस्रो वर्ष खेतमा तरबुजा लगाएका हुन्।

खेतमा उत्पादन भएको तरबुजा उनले छिमेकी जिल्ला अर्घाखाँची रुपन्देही र कपिलवस्तुमा बेचेका छन्। उनले अहिले सम्म ५१ क्वीन्टल बढी तरबुजा बिक्री गरी एक लाख बढी आम्दानी गरेका बताए।  बिउ जोताई र सिचाई गरी २५ हजार बढी लगानी गरेको उनले तरबुजा खेतीबाट सन्तुष्ट भएको बताए।

उनले गत वर्ष भन्दा उत्पादन कम भए पनि मूल्य भने यस वर्ष राम्रो पाएको बताए। यस वर्ष २१ देखि २५ रुपैयाँ सम्म प्रति किलोका दरले बिक्री गरेका छन्। खेतमा अझै सय क्वीन्टल बढी तरबुजा रहेका छ। यस वर्ष उनले खरबुजा समेत लगाएका छन्।

खरबुजा तरबुजा भन्दा दोब्बर बढी मूल्यमा बिक्री हुने गरेको उनले बताए। पानी परेर खेतमा जमेकोले बोटहरू मर्न लागेको उनले बताए।

तरकारी खेतीलाई मुख्य पेस बनाएका बहराईचीले भारतीय तरबुजा आयत भएकाले केही भने असर परेको बताए। कृषक दिनानाथ केवटले यस वर्ष तरबुजाबाट ५० हजार आम्दानी हुने बताए।

वैशाख जेठको प्रचण्ड गर्मीको बावजुत बालुवाको तापमा रापिँदै यतिखेर माग बढी भएकाले फल र तरकारीको स्याहारमा जुटेका केवटले बताए। ‘ सिँचाइको सुविधा हुन सके आम्दानी अझ बढ्ने थियो’, उनले भने।

२ बिघामा बगरे खेती गरेको अर्को कृषक बुद्धु केवटले यस वर्ष एक लाख मात्र आम्दानी भएको बताए। भारतीय तरबुजा जिल्लामा आएकाले यहाका स्थानीय कृषकहरूले उत्पादन गरेको तरबुजाको भाउमा केही असर गरेको कृषकहरू बताउँछन्। माधुरी ६४ जातको खरबुजा एक कठ्ठामा नै १५ क्वीन्टल  बढी उत्पादन हुने कृषकहरु बताउँछन्।

यहाँ एक देखि १० किलो सम्मको तरबुजा उत्पादन भएका छन्। उनीहरुद्वारा उत्पादित तरबुजा अहिले कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने ४ दर्जन हाटबजारको प्रमुख आकर्षण बनेको छ।

यस्तै यहाँको तरबुजा र खरबुजा अर्घाखाँची बुटवल लगायतका स्थानका जाने गरेको छ। अहिले बजारमा तरबुजा प्रति केजी ३० देखि ४० रुपेया सम्म रुपैयाँ सम्म बिक्री भइरहेको छ। तरबुजा खरिद गर्न बुटवल, भैरहवा, अर्घाखाँची सम्मका व्यापारीहरू खेतमै आउने गरेका छन्।

स्थानीय कृषक पुर्सराम केवटले खेतमा फलेका तरबुजा तर्फ इसारा गर्दै भने, ‘व्यापारीहरू गाडी लिएर खेत मै माल किन्न आउँछन्, बिक्रीका लागि कुनै समस्या छैन,’।

बढ्दै गएको गर्मीसँगै स्थानीय बजारमा चिसो फल र तरकारीको माग बढेकाले आफ्नो उत्पादन बजार सम्म पुर्‍याउन किसानहरू व्यस्त देखिन्छन्। सो फलसङै उनीहरूले त्यहाँ काँक्रो, तरकारी उत्पादन समेत गरेका छन्।

जिल्लाको ६५ हेक्टरमा तरबुजा खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यहाँ माधुरी ६४ आस्था, महेन्द्रा र मधुवाला जातका तरबुजा उत्पादन हुने गरेको छन्।

प्रकाशित: १६ जेष्ठ २०८३ १८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App