सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने ‘देहिजाँत’ मेला आगामी मङ्सिर ७ र ८ गते लाग्ने भएको छ।
उग्रतारा क्षेत्र विकास समितिका अनुसार कार्तिक शुक्ल पूर्णिमाको रात मङ्सिर ७ गते रतेडी र दोस्रो दिन ८ गते दिउसेडी मेला लाग्नेछ।
डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका-८ को सुन्दर डाँडामा अवस्थित यस महाशक्तिपीठमा मेला भर्न हजारौं दर्शनार्थी पुग्ने गर्दछन्।
समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार देहिजाँतका अवसरमा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन पूजाआराधनाका लागि आउँछन्।
मन्दिरको भ्राण (भण्डार) रहेका छचोडा, खनमडा, दुमडा र जिलोडा गरी चारवटै गाउँबाट रतेडी मेलामा बिहान देउरो आएपछि दिउसेडी मेला सुरु हुन्छ।
बिहान ४ बजे दाइन दमाह, रुइसिङ्ग, विकुल, भोकर, शङ्ख, घण्टालगायत बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो मन्दिरमा पुगेपछि पूजा सुरु हुने अध्यक्ष साँकीले जानकारी दिए।
‘बिहानको पूजाआजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौं एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ,’ स्थानीय देवकी भट्टले भनिन्, ‘बिहान चारवटै गाउँको भ्राणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चारवटै गाउँको भ्रमणमा लगी मेला सम्पन्न हुन्छ।’
देहिजाँतमा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यका साथै इष्टमित्र, साथीसङ्गी र परिवारजनबिच वर्ष दिनको अपूर्व भेटघाट तथा दुःख-सुख साटासाट हुने गर्छ। यहाँको लोकप्रिय खाना माँडाका साथै स्थानीय लोपोन्मुख वस्तुको उत्पादन बिक्री तथा प्रवर्द्धनका लागि समेत यो मेला प्रसिद्ध छ।
किंवदन्तीअनुसार दुई हजार ५०० वर्षपहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा फाली लागेर रगत बगेपछि देवी उत्पन्न भई दर्शन दिएकी थिइन्।
त्यसै दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास रहेको अध्यक्ष साँकीले बताए।
वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुख प्राप्ति हुने तथा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।
प्रकाशित: ३० कार्तिक २०८३ २१:५५ सोमबार





