३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

भीरमा फाल्ने वनका कर्मचारीबाटै ‘झुटो विज्ञप्ति !’

कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक गरिब महिलाले गुजारा चलाउँदै आएको टेम्पो वनका कर्मचारीले भीरबाट फालेपछि चौतर्फी विरोध भएको छ।

भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–४ बासपानीमा सडक छेउमा राखिएको स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो वनका कर्मचारीले भीरबाट खसालेका थिए। भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वसाधारण, विद्यार्थी, शिक्षक, प्राध्यापक, व्यवसायी, कानुन व्यवसायी, राजनीतिक दलका कार्यकर्ता तथा नागरिक समाजका व्यक्तिहरूले घटनाको चर्को आलोचना गरेका छन्। दोषीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको छ।

टेम्पोमा खुद्रा सामान बेचेर गोदावरी निवासी धामीले जीविका चलाउँदै आएकी थिइन्। वन अतिक्रमण हटाउन आएका कर्मचारीले टेम्पोबाट सामान झारेपछि हारगुहार गर्दा पनि नमानेर टेम्पो भीरबाट खसालेको उनले बताइन्।

‘जीविका चलाउने त्यही एउटा अटो थियो। घर लैजान दिनुहोस्, अबदेखि यहाँ ल्याउँदिनँ भनेर हारगुहार गर्दा पनि नमानेर भीरबाट खसालिदिए,’ उनले भनिन्।

धामीले घर नजिकै रहेको भीमदत्त राजमार्गको गाईमारे डाँडास्थित सडक छेउमा टेम्पोमा चिया, अण्डा, चाउचाउ, पानीलगायत सामान बेच्दै आएकी थिइन्।

उनका तीन छोरा मजदुरीका लागि भारतमा छन् भने घरमा श्रीमान्, बुहारी र उनी बस्दै आएकी छन्। दैनिक ३–४ हजार रुपैयाँसम्म व्यापार गरेर जीविका चलाउँदै आएको उनले बताइन्।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले वन अतिक्रमण हटाउने क्रममा पटक–पटक भन्दा पनि अटेर गरेपछि टेम्पो हटाउन खोज्दा अनियन्त्रित भएर भीरमा खसेको दाबी गरेका छन्। उनका अनुसार जीर्ण अवस्थामा रहेको टेम्पो हटाउन खोज्दा दुर्घटना भएको हो।

तर भिडियोमा ३–४ जना कर्मचारीले टेम्पो भीरतर्फ धकेलेको स्पष्ट देखिए पनि आलोचना भएपछि कार्यालयले टेम्पो आफैं अनियन्त्रित भएर खसेको दाबी गरेको छ।  

घटनापछि स्थानीयदेखि सामाजिक सञ्जालसम्म व्यापक आक्रोश देखिएको छ। टेम्पो भीरबाट खसाल्ने कर्मचारीमाथि कारबाही गर्न स्थानीयले माग गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा। डा। हेमराज पन्तले वन अतिक्रमण हटाउने नाममा गरिब महिलाको जीविकाको साधन भीरबाट खसाल्नु अमानवीय, असोभनीय र मूर्खतापूर्ण कार्य भएको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्,

‘सुरुमा त मलाई यस्तो पनि हुन सक्छ भन्ने विश्वास लागेन, तर साँच्चै रहेछ।’

उनले वन अतिक्रमण भएको भए कानुनी प्रक्रिया अपनाउनुपर्ने तर गरिब महिलाको दैनिक जीविकाको आधार नै नष्ट गर्नु गलत भएको बताएका छन्।

‘झुटो विज्ञप्ति’ निकालेको भन्दै आलोचना

यसैबीच वन कार्यालयले एक विज्ञप्ति जारी गर्दै टेम्पोको चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा धकेलेर सार्न समेत गाह्रो भएको जनाएको छ। हटाउन निर्देशन दिँदा नमानेपछि बल प्रयोग गरी हटाउने क्रममा भौगोलिक सतह र असन्तुलनका कारण भीरमा खसेको उल्लेख गरिएको छ।

तर वनका कर्मचारीले आफ्नो बचाउका लागि झुटो विज्ञप्ति निकालेको भन्दै चर्को आलोचना भएको छ।  

नेपाल बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता सिद्धराज ओझाले सामाजिक सञ्जाल फेसबुकमा वन कार्यालयले आफ्ना कर्मचारीको आपराधिक गतिविधि ढाकछोप गर्न मात्रै विज्ञप्ति निकालेको आरोप लगाएका छन्।

‘जिल्ला वन कार्यालय कैलालीले आफ्नो र आफ्ना कर्मचारीले गरेका आपराधिक क्रियाकलाप बचाउन मात्रै विज्ञप्ति निकालेकोमा कुनै द्विविधा छैन,’ उनले लेखेका छन्।

उनले प्रश्न गरेका छन्, ‘चक्का र इन्जिन बिग्रिएको टेम्पो पटक–पटक कसरी सारियो रु बल प्रयोग गरेर हटाउँदा समथर ठाउँ खोजिएन, किन भीरतर्फ धकेलियो?’

उनका अनुसार भिडियो हेर्दा टेम्पो राम्रो अवस्थामा रहेको, रंगरोगन गरिएको र अगाडिको सिसा समेत सुरक्षित देखिन्छ।

‘झुटो विज्ञप्ति निकाल्ने र त्यसमा सही ठहर्याउने सबैलाई कानुनी कारबाहीको दायरामा तत्काल ल्याउनुपर्छ,’ उनले माग गरेका छन्।

स्थानीयवासीले पनि वनका कर्मचारीले गरेको गल्ती लुकाउन झुटो विज्ञप्ति निकालिएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

प्रकाशित: ३१ जेष्ठ २०८३ १५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App