अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा अर्काको जग्गा फर्जी कागजात बनाएर अर्कैको नाममा दर्ता गरेको आरोपमा तत्कालीन मालपोत प्रमुख र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार विशेष अदालत, काठमाडाैं आरोपपत्र दायर गरेको हो। मुद्दा दायर गरिएकामा भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार झा छन्।
त्यसैगरी, सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १५ का तत्कालीन वडा अध्यक्ष कपिलदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय, जग्गा प्राप्त गर्ने किशोरी धामी थारू र जग्गा प्राप्त गर्न सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई पनि प्रतिवादी बनाइएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आयोगका अनुसार सर्लाहीको साविक बलवा सोकनाहा गाविस वडा नं. २ (ख) अन्तर्गत पर्ने कित्ता नं. ६२ को क्षेत्रफल ०-११-२ ज.बि. जग्गा मालपोत कर्मचारी र भू-माफियाको मिलेमतोमा फर्जी जग्गाधनी पुर्जा बनाई बेचबिखन गरेको उजुरी परेको थियो।
अनुसन्धानका क्रममा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको उक्त जग्गालाई कुनै पनि समयमा हकभोग नभएका किशोरी धामी थारू र भोला धामी थारूको नाममा हकभोग रहेको भनी कार्यालयको विवरण सच्याइएको पाइएको आयोगले जनाएको छ।
प्रतिवादीहरूले आपसी मिलेमतोमा गैरकानुनी लाभ लिने र वास्तविक जग्गाधनीलाई प्रत्यक्ष हानिनोक्सानी पुर्याउने बदनियत राखेको अख्तियारको ठहर छ।
उनीहरूले भएका तथ्य लुकाई हुँदै नभएको जग्गाधनी खडा गरी किशोरी धामी थारूको नाममा दाखिल खारेज र दर्ता गरेको, गलत लिखत तथा स्रेस्ता पुर्जा तयार गरेको र सरकारी निकायको कागजातमा अनधिकृत हेरफेर तथा थपघट गरेको अनुसन्धानबाट खुलेको छ।
आयोगले तत्कालीन मालपोत प्रमुख यादव, नायब सुब्बा कोइराला, खरिदार झा र तत्कालीन वडा अध्यक्ष चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा सोही दफाबमोजिम कैद र जरिवाना सजाय मागदाबी गरेको छ।
तत्कालीन वडा सचिव राम गुलाम रायविरुद्ध सोही ऐनको दफा ९ र दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा कैद र जरिवाना सजाय मागदाबी लिइएको छ।
यस्तै, किशोरी धामी थारू र भोला धामी थारूले मुख्य कसुरदारहरूले गरेको दफा ९, दफा ११ र दफा १९ को उपदफा (२) बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने मतियार भई दफा २२ बमोजिम कसुर गरेको आयोगको आरोप छ।
उनीहरूलाई मुख्य कसुरदारलाई हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह सजाय हुन मागदाबी गरिएको छ।
प्रकाशित: १० मंसिर २०८३ १७:१४ बिहीबार



-600x400.jpg)

