१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

तिहारमा फूलको चरम अभाव, सयपत्रीको मूल्य आकासियो

‘फू्लको चाड’ मानिने तिहारमा यसवर्ष फूलको चरम अभाव भएको छ । विगत वर्षहरुको दाँजोमा यो वर्ष फूल नपाउँदा बजारमा सयपत्री किलोको हजार हाराहारी मूल्य हाल्दा पनि पाउन कठिन भईरहेको छ ।  

फूलको अभावमा सदरमुकाम गाईघाटलगायत बजारक्षेत्रका उपभोक्ता (छोरी चेली) मारमा परेका छन् । काग तिहारदेखि भाइ तिहारसम्म पूmलैफूलको प्रयोग हुने यो बेला चरम अभाव भएकाले भएको फूलको मूल्य आकाश पुगेको स्थानीय बताउँछन् । बजारमा फूलको अभावमा पहाडी भेगबाट आयातित सयपत्री किलोको ७ सय ५० रुपैँया हाल्दा पनि पाउन मुस्किल भईरहेको उपभोक्ता बताउँछन् ।

गाईघाटमा फूल नहुदा रौतामाई र लिमचुङबुङबाट ल्याइएको फूल किनेर काम चलाउन स्थानीय बाध्य छन् । पहाडी भेगमा भने फूलको अभाव नभएको र गाईघाटमा अभाव थाहा पाएका किसानले ल्याएर बेचेका छन् । रौतामाई र लिमचुङबुङका किसानले लगभग ५० क्विण्टल सयपत्री सदरमुकाम ल्याएर बेचेको त्रियुगा उद्योग बाणिज्य सङ्घ गाईघाटले जनाएको छ ।  

फूलको अभाव हुनुको मुख्य कारण विगत वर्षहरुको तुलनामा यो वर्षको तिहार केही समय अघि नै पर्नु हो । त्यसैले स्थानीयले आफ्नो बारीमा रोपेको फूल फुल्नै नभ्याएर अभाव हुन गएको हो । व्यवसायिक फूल खेती कम हुने उदयपुरका स्थानीय प्रायले आफुलाई चाहिदो फूल भने खेत बारीमै रोप्ने गरेका छन् ।  

आफ्नो प्रयोजनका लागि बारीमा लगाएको फूल फुल्नै नभ्याई तिहार आईपुगेकाले अभाव भएको गाईघाटकी उपभोक्ता श्यामकुमारी राईले बताईन् । सँधै आफुलाई चाहिदो सयपत्री र मखमली करेसाबारीमै रोप्ने गरेकी राईको फूल भर्खर कोपिला लाग्दै गरेको छ तर, यता तिहार भने भित्रिइसकेको छ ।  

करेसाबारीमा आफुलाई पुग्दो विरुवा रोपेकी उपभोक्ता शर्मिला बस्नेतको सयपत्री पनि फुल्ने सुरसार नभई तिहार आयो । ‘म हरेक वर्ष आफुलाई चाहिदो फूल करेसाबारीमै रोप्ने गर्छु’ उनले भनिन् ‘तर, यसपाली पोहोरपरारभन्दा छिट्टै तिहार आएकाले फूल फुलेकै छैन ।’ उनीजस्तै अन्य महिलाले करेसाबारीमा रोपेको फूल नफुली तिहार आर अभाव भएको हो ।  

उदयपुरमा केही वर्षयता तिहारलाई लक्षित गरि व्यवसायिक फूल खेती पनि सुरुवात भईसकेको छ । तर ७५ प्रतिशत बढी उपभोक्ता अझै आफ्नै उत्पादनको फूल प्रयोग गर्दै आएका छन् । गाईघाटकी अर्की उपभोक्ता रेनुका राई आफुलाई चाहिदो रोपेको सयपत्री वर्षाले बढ्न नदिएकाले फूल्न ढिला भएको बताउँछिन् । ‘विरुवा रोप्ने बित्तिकै अविरल वर्षाले थिलथिलो बनायो, तिहार पनि ढिट्टै आयो’ उनले भनिन् ‘त्यसैले सँधै पर्याप्त पुग्ने सयपत्री यसवर्ष अभाव भयो ।’

तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको धेरै प्रयोग हुने गरेको छ । सर्वाधिक प्रयोग हुने सयपत्री र मखमली नै हो । सयपत्री विरुवा साउनमा लगाउँदा असोज अन्तिमदेखि कात्तिक दोस्रो सातासम्म ढकमक्क फूलिसक्छ । तर, यो वर्ष साउनमा रोप्दै गर्दा अविरल वर्षाले विरुवा सार्नै नदिएको उनीहरु ब्ताउँन् । बल्लबल्ल जागेको विरुवा फूल्न नपाई तिहार भित्रिदा अभाव हुन गएको हो ।  

केहीवर्षअघिसमम बजारमा वर्षेनी प्लास्टीकका नक्कली फूल आयात गर्ने गरिएको थियो । तर, पछिल्लो समय स्थानीय उत्पादनको प्रयोग गर्ने भन्दै नक्कली फूल आयात खुम्चयाउँदै लगिएको छ । त्रियुगा उद्योग बाणिज्य सङ्घले स्थानीय उत्पादनको खपत गर्न तथा वातावरण बिग्रन नदिन प्लास्टीक फुल र मालाको प्रयोग कम गर्न आयात रोक्न खोजेको जनाएको छ ।  

त्यसो त कटारीस्थित त्रिबेणी माध्यमिक विद्यालयले विगत ४ वर्षयता व्यवसायिक फूलखेती गर्दै आएको छ । प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञानतर्फका विद्यार्थीले कटारी ४ र सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेमा व्यवसायिक फूल खेती लगाउदै आएका छन् ।  

गतवर्षसम्म बिक्नै गाह्रो भएको सयपत्री यसवर्ष भने अग्रिम बुकिङ खुल्ला गर्दा दसैँ तिहारअघि नै सकिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक बालकृषण् कार्कीले बाली विज्ञानका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत २ बिगाहा जमिन भाडामा विद्यालयकै लगानीमा फूलको व्यवसायिक खेती गर्न लगाइएको हो ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालले स्कुलको कार्यक्रम सफल पार्न गतवर्षदेखि कटारी नगरपालिकाले कटारी बजारमा प्लास्टीकका नक्कली र सक्कली दुवैखाले फूल आयातमा रोक लगाउदै आएको बताए । आयातमा रोक लगाएपछि विद्यार्थीले उत्पादन गरेको फूलको बिक्री राम्रो भईरहेको अध्यक्ष दाहालले बताएका छन् ।  

प्रकाशित: ५ कार्तिक २०८२ १७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App