४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

बजारमा मलको चरम अभाव : अनुदानको मल व्यापारीको गोदाममा

बजार अनुगमन गर्दै टोली। तस्बिर: महेश्वर

किसानले मल नपाएर धान बाली बिग्रिएको गुनासो गरिरहेका बेला उनीहरूका लागि सरकारबाट प्राप्त अनुदानको रासायनिक (युरिया) मल ठूलो परिमाणमा गोदाममा थन्किएको अवस्थामा फेला परेको छ। 

आफ्नो नाममा आएको मल नपाएको गुनासो किसानले गरिरहँदा व्यापारीको गोदाममा लुकाइएको अवस्थामा मल फेला पर्नुले कालोबजारी र तस्करी मौलाएको अनुमान गरिएको छ।  

जिल्ला अनुगमन समितिले बिहीबार कटारी बजारमा अनुगमनको क्रममा स्थानीय व्यापारी दिलीप चौधरीको गोदाममा लुकाइराखिएको २ सय बोरा मल फेला परेको हो। सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डे नेतृत्वको समितिले कटारीका २८ वटा पसल अनुगमन गर्दा अनुदान मूल्यमा बिक्री–वितरण गर्न पठाइएको मल गोदाममा फेला परेको छ।  

टोली संयोजक पाण्डेले अनुगमन गर्दा चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा सो परिमाणको मल फेला परेको बताए। उनले गोदाममा सिलबन्दी गरेर अनुसन्धान अघि बढाइएको जनाए। गोदाममा राखिएको मल कहाँबाट कसरी आएको, कुन प्रयोजनमा वितरण नगरी राखिएको र किसानका लागि आएको अनुदानको हो–होइन भन्ने यकिन गर्न छानबिन गरिने उनको भनाइ छ।  

घटना नगरपालिकाभित्र परेकाले छानबिनको जिम्मा कटारी नगरलाई दिइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई छानबिन गरेर सत्य–तथ्य सार्वजनिक गर्न निर्देशन दिइएको पाण्डेले बताए। ‘यो नगर क्षेत्रभित्रको घटना भएकाले पहिला नगरपालिकाबाटै छानबिन होस्,’ उनले भने, ‘त्यसैले प्रमुख प्रशासकीय अधिकृतलाई छानबिन प्रक्रिया अघि बढाउन भनेका छौँ।’  

प्रमुख प्रशासकीय अधिकृत राजन थापाले गोदाममा फेला परेको मलको विषयमा यथार्थ बाहिर ल्याउन छानबिन समिति गठन गर्ने र दोषीमाथि कारबाही गर्ने बताए। किसानलाई मलको अभाव भइरहेका बेला एउटै गोदाममा यति धेरै मल फेला पर्नुले रहस्य भएको भन्दै उनले छानबिन गरी संलग्नलाई कानुनी कारबाही गरिने जनाए।  

कटारी क्षेत्रका किसानले लामो समयदेखि रासायनिक मल नपाएको गुनासो गर्दै आएका छन्। मल अभाव टार्न कृषि सामग्री संस्थान गाईघाटलाई पत्राचार गरेको र संस्थानले मल पठाएको भए पनि बजारमा नपाइएको नगरपालिकाको गुनासो थियो। कटारी ३ का वडाध्यक्ष पुष्कर खड्काले वडाको सिफारिसअनुसार सात दिनअघि संस्थानले बिक्री–वितरणका लागि मल पठाएको तर बजारमा नपाएको बताए।  

वडाध्यक्ष खड्काका अनुसार मल बिक्री–वितरणको जिम्मा नगरपालिकाले स्थानीय सहकारी संस्थालाई दिएको छ। मल नपाएको गुनासो आएपछि संस्थानलाई सोध्दा कोटाअनुसार पठाइसकेको जवाफ आएको, तर सहकारीमा नआएको उनले बताए।  

‘किसानको गुनासोपछि संस्थानलाई सोधेँ, कोटाअनुसार पठाइसकेको जवाफ आयो,’ खड्काले भने, ‘वितरणको जिम्मा पाएका सहकारीलाई सोध्दा आएको छैन भन्छन्। प्रदेश कृषि मन्त्रालयमा सोध्दा पनि कोटाअनुसार गएको जवाफ आयो।’ बिचमै हराएको मल गोदाममा थन्किएको कुरा अनुगमन टोलीले फेला पारेको उनले बताए।  

यो घटनाले अत्यावश्यक बेला अनुदानको मल लुकाएर कृत्रिम अभाव सृजना गरी महँगोमा बेच्ने कालोबजारी र तस्करी हुने किसानको आरोप पुष्टि भएको छ। किसानका लागि सरकारले अनुदानमा उपलब्ध गराउने मल कालोबजारी र तस्करीको भुमरीमा पर्दा किसान मारमा परेको उनीहरूको गुनासो छ।  

हरेक वर्ष रोपाइँको बेला सङ्घीय कृषि मन्त्रालयमार्फत अनुदानको मल प्रदेश कार्यालयमा आउने र प्रदेशले सदरमुकामस्थित कृषि सामग्री कम्पनीमा पठाउने नीति सरकारको छ। कम्पनीले प्राप्त मल स्थानीय तहको सिफारिसका आधारमा सहकारीमार्फत किसानलाई बिक्री–वितरण गर्छ। तर, कम्पनीमार्फत सहकारीमा पुग्नुपर्ने मल बिच बाटोमै हराउनु र गोदाममा भेटिनुले समस्या पुष्टि भएको छ।

प्रकाशित: १२ भाद्र २०८२ १९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App