राहदानी विभागले पछिल्ला दिनहरूमा सेवाग्राहीको चाप अस्वाभाविक रूपमा बढेको जनाउँदै फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै कार्यालयमा उपस्थित हुन सर्वसाधारणलाई आग्रह गरेको छ।
नयाँ राहदानी प्रणालीमार्फत नियमित सेवा प्रवाह भइरहे पनि समय नपुगी कार्यालय आउने र अनावश्यक भीडभाड गर्ने प्रवृत्तिका कारण सेवा व्यवस्थापनमा कठिनाइ भएको विभागले जनाएको हो।
विशेषगरी इजरायलमा रोजगारीका लागि आवेदन दिने म्याद आगामी असोज २६ गतेसम्म कायम रहेकाले सेवाग्राहीलाई हतारिएर भीड नगर्न विभागले सुझाएको छ।
पर्याप्त समय बाँकी नै रहेकाले कुनै दबाब वा हतारोमा नपरी नियमित प्रक्रियाबाटै आवेदन अघि बढाउन विभागले ध्यानाकर्षण गराएको छ।
यसैगरी, २०८३ साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार हाल जुनसुकै जिल्लाका नागरिकले पायक पर्ने कुनै पनि जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने कानुनी व्यवस्था छ।
यस व्यवस्थाले गर्दा राहदानी बनाउनकै लागि काठमाडौंस्थित विभागमै धाउनुपर्ने बाध्यता नरहेको स्मरण गराइएको छ।
विभागले अत्यन्तै आकस्मिक अवस्थामा बाहेक राजधानी नआई आफ्नै नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाटै राहदानी सेवा लिन अनुरोध गरेको छ।
सेवा प्रवाहलाई सहज, छिटो र व्यवस्थित बनाउन सबै सेवाग्राहीलाई तोकिएको प्रक्रिया र समयतालिकाको पूर्ण पालना गर्न विभागले अपिल गरेको छ।
प्रकाशित: २४ भाद्र २०८३ २१:०९ बुधबार





