अण्डाको मूल्य बढेर प्रतिक्रेट पाँच सय ६० रुपैयाँ पुगे पनि कुखुरापालक किसानले उत्पादन लागतसमेत उठाउन नसकेको बताएका छन्।
दाना, औषधि, श्रमिक तथा अन्य व्यवस्थापन खर्च बढ्दै जाँदा अण्डाको बिक्री मूल्यले लागत धान्न नसकेको उनीहरूको भनाइ छ।
रत्ननगर नगरपालिका–१० का अमोद खनाल ठूलो परिमाणमा अण्डा उत्पादन गर्ने किसान हुन्।
उनका फार्ममा एक लाखभन्दा बढी लेयर्स कुखुरा छन्। दैनिक करिब साढे तीन सय पेटी अण्डा बिक्री गर्दै आएका खनालले बुबाले ४० वर्षअघि सुरु गरेको व्यवसायलाई निरन्तरता दिइरहेका छन्। उनी आफैँ यो व्यवसायमा सक्रिय भएको १५ वर्ष पुगिसकेको छ।
खनालका अनुसार यस अवधिमा अहिले अण्डाको मूल्य सबैभन्दा बढी पाएका छन्। तर, मूल्य बढे पनि उत्पादन लागतको तुलनामा आम्दानी कम छ।
‘अहिले क्रेटको पाँच सय ६० रुपैयाँमा अण्डा बिक्री गर्दै आएको छु। हाम्रो लागत मूल्य उठ्नका लागि प्रतिक्रेट ५ सय ७३ रुपैयाँ पर्नुपर्छ’,उनले भने।
खैरहनी नगरपालिका–८ का युवराज पाठकको फार्ममा पाँच हजार लेयर्स कुखुरा छन्। उनको फार्मबाट दैनिक १४ पेटी अण्डा उत्पादन हुन्छ।
अहिले अण्डाको मूल्य केही बढेकाले किसानले राहत महसुस गरे पनि व्यवसाय सञ्चालनका लागि पर्याप्त नभएको उनको भनाइ छ।
‘उपभोक्तालाई त महंगाे भएको होला, तर हामीले अझै मूल्य पाएका छौँ’ उनले भने ‘किसानहरूको लागत मूल्य नै बढी छ।’
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल पोल्ट्री व्यवसायमा अण्डाको मूल्य सधैँ एकनास नहुने व्यवसायीहरू बताउँछन्। कहिले मूल्य बढ्ने र कहिले घट्ने भएकाले किसानले आम्दानीमा स्थिरता कायम गर्न नसकेको उनको भनाई छ।
‘पछिल्लो समय अण्डा उत्पादनसमेत घट्दो क्रममा रहेको छ। उत्पादन लागतअनुसार मूल्य नपाउँदा किसानलाई नियमित खर्च व्यवस्थापन गर्न कठिन भइरहेको छ’, उनले भने।
नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार प्रतिगोटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा रहेको छ। बजारमा अण्डाको मूल्य लागतको हाराहारीमा पुग्न थाले पनि किसानले अझै अपेक्षित प्रतिफल पाउन नसकेको मञ्चका कार्यालय प्रमुख शिवप्रसाद बराल बताउँछन्।
‘उपभोक्ता, व्यवसायी र सरकारी निकायले एउटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा तोकेको छ। किसानले त्यो अझै पाउन सकेका छैनन्,’ उनले भने ‘पहिलेभन्दा अहिले केही मूल्य भने किसानले पाएका छन्।’
नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर छ। देशमा दैनिक करिब ३८ लाखदेखि ४० लाख गोटासम्म अण्डा उत्पादन भइरहेको उनले बताए।
कुनै समय दैनिक उत्पादन ५५ लाख गोटासम्म पुगेको भए पनि अहिले उत्पादन घटेको उनको भनाई छ।
चितवनमा मात्रै देशको कुल अण्डा उत्पादनको करिब २० प्रतिशत हिस्सा रहेको छ। अण्डा पोषणका दृष्टिले महत्त्वपूर्ण खाद्य पदार्थ भएकाले यसको उत्पादन र उपभोग दुवैलाई निरन्तरता दिनुपर्ने उनले बताए।
कोरोना महामारीको समयसँग तुलना गर्दा पोल्ट्री व्यवसायको उत्पादन तथा व्यावसायिक गतिविधिमा ठूलो परिवर्तन आएको नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन चिरञ्जीवी पोखरेलले बताए।
कृषि, पशुपन्छी तथा वन मन्त्रालयका सहसचिव डा. रामनन्दन तिवारीले सरकारले पोल्ट्री क्षेत्रको व्यावसायिक विकासका लागि सहयोग गर्दै आएको बताएका छन्।
उनका अनुसार पोल्ट्री क्षेत्रको व्यावसायिक रूपान्तरणमा निजी क्षेत्र, सरकार र सार्वजनिक साझेदारीमार्फत काम भइरहेको छ।
सरकारले आयातलाई निरुत्साहित गर्ने, बर्डफ्लु नियन्त्रण गर्ने, उपकरण तथा मेसिनमा भन्सार छुट दिने र पशुपन्छीको बिमामा सहजीकरण गर्ने काम गरिरहेको उनले बताए।
त्यस्तै, ब्याजदरमा सहुलियत, ऋण प्रवाहमा सहजीकरण, चल्ला आयातमा सहजीकरण तथा विपद्बाट क्षति बेहोरेका किसानलाई राहत वितरण गर्ने काम पनि भइरहेको उनको भनाई छ।
यसैबिच चितवनमा शुक्रबार विश्व अण्डा दिवस मनाइएको छ। यस वर्ष दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ।
सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गरेको छ।
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्दै यस वर्षको विश्व अण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाएको हो।
दिवसको दिन कुखुरा व्यवसायी मञ्चको कार्यालयबाट चौविसकोठी वीरेन्द्र क्याम्सगेटसम्म र्याली समेत निकालिएको थियो। अण्डालाई सन्तुलित आहारको महत्वपूर्ण हिस्साका रूपमा प्रवर्द्धन गर्दै यसको पोषण र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे आम नागरिकलाई जानकारी गराउँदै दिवस मनाइएको हो।
संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार दिवसको अवसरमा अण्डाको महत्वबारे जानकारी गराउन देशभर विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ।
दिवसको एक साताअघिदेखि नै विद्यालयमा अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सम्पन्न भएको छ।
प्रकाशित: २३ आश्विन २०८३ १२:३९ शुक्रबार





