२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

संरक्षण मोडल पुनर्विचारको माग, आदिवासी अधिकार सुनिश्चित गर्न जोड

संरक्षणका नाममा लागू गरिएका नीति र कानुनले आदिवासी जनजातिका परम्परागत अधिकार सीमित बनाइरहेको भन्दै सरोकारवालाले संरक्षणको मोडल पुनः समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूले जैविक विविधता र वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन आदिवासी समुदायलाई केवल लाभग्राहीका रूपमा नभइ निर्णय प्रक्रियाकै साझेदारका रूपमा स्थापित गर्नुपर्ने बताएका हुन्।

आदिवासी महिला कानुनी सचेतना समूह (इनोल्याग) ले आइतबार काठमाडौंमा आयोजना गरेको ‘अधिकारमा आधारित संरक्षणका लागि संस्थागत सहकार्य सुदृढीकरण’ विषयक राष्ट्रिय गोष्ठीमा सहभागीहरूले संरक्षण नीति र आदिवासी अधिकारबीच सन्तुलन कायम नगरे संरक्षण दिगो हुन नसक्ने निष्कर्ष प्रस्तुत गरे। कार्यक्रममा राइट्स एन्ड रिसोर्स इनिसियटिभ (आरआरआई) को सहयोग रहेको थियो।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि नम्बर १६९ अनुमोदन गरे पनि त्यसअनुसार आदिवासी जनजातिका अधिकार व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताए।

उनले संरक्षण क्षेत्र विस्तारसँगै त्यहाँ बसोबास गर्ने आदिवासी समुदायको भूमि, जीविकोपार्जन र सांस्कृतिक अधिकार कसरी सुरक्षित गर्ने भन्ने विषयमा राज्य अझ गम्भीर हुनुपर्ने बताए। उनका अनुसार स्थानीय समुदायको परम्परागत ज्ञान र अभ्यासलाई संरक्षण नीतिको आधार बनाइनु आवश्यक छ।

कार्यक्रममा संरक्षण क्षेत्रमा बसोबास गर्ने स्थानीय प्रतिनिधिहरूले भने संरक्षणका सफलताका पछाडि आफ्नै समुदायको योगदान रहे पनि त्यसको प्रतिफल आफूहरूले नपाएको गुनासो गरे।

ढोरपाटन सिकार आरक्ष क्षेत्रकी स्थानीय नरमति पुनका अनुसार वन्यजन्तुले बाली नष्ट गर्ने, खेतीयोग्य जमिनमा क्षति पुर्‍याउने र जीविकोपार्जनमा प्रत्यक्ष असर पार्ने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ। तर क्षतिपूर्ति पाउन लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले धेरै किसानले दाबी गर्नसमेत छाडेको उनको भनाइ थियो।

उनले संरक्षणका लागि स्थानीयले निरन्तर सहयोग गरे पनि आधारभूत पूर्वाधार, सेवा र अवसर भने समुदायले नपाएको गुनासो गरिन्। 'हाम्रा बाउबाजेलाई झुक्याएर नियम थपिए, तर विकासको अनुभूति कहिल्यै भएन,' उनले भनिन्।

चितवन मध्यवर्ती क्षेत्रकी विना बोटेले संरक्षणका नाममा ठूलो बजेट खर्च हुने सुनिए पनि त्यसको प्रत्यक्ष लाभ स्थानीय समुदायले महसुस गर्न नसकेको बताइन्। उनका अनुसार परम्परागत रूपमा माछा मार्ने वा वन स्रोत उपयोग गर्ने गतिविधिमै स्थानीयले जरिवाना बेहोर्नुपरेको छ भने पर्यटनबाट रोजगारी र आयआर्जनका अवसरसमेत सीमित छन्।

उनले संरक्षण कार्यक्रम सञ्चालन गर्दा स्थानीय समुदायसँग सहकार्य गर्नेभन्दा नियन्त्रण गर्ने प्रवृत्ति बढी देखिएको टिप्पणी गरिन्।

स्थानीय प्रतिनिधि विश्वास चेपाङले आदिवासी समुदायका नाममा सञ्चालन हुने कार्यक्रमको प्रभाव समुदायसम्म नपुगेको भन्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म विशेषगरी आदिवासी महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।

इकोलोजिस्ट कमल थापाले संरक्षण क्षेत्र विस्तारसँगै बाघ, हात्तीलगायत वन्यजन्तुको संख्या बढ्नु सकारात्मक संकेत भए पनि त्यसबाट सिर्जित मानव–वन्यजन्तु द्वन्द्वलाई बेवास्ता गर्न नहुने बताए। उनका अनुसार संरक्षण सफल बनाउन स्थानीय समुदायको सुरक्षा, जीविकोपार्जन र अधिकारलाई वन्यजन्तु संरक्षणकै बराबरीमा प्राथमिकता दिन आवश्यक छ।

गोष्ठीमा प्रदर्शन गरिएको ‘आदिवासी महिलाको अधिकार र जलवायु न्यायका लागि इनोल्यागको २५ वर्षे अभियान’ शीर्षकको वृत्तचित्रमा संस्थाले दुई दशकभन्दा बढी समयदेखि आदिवासी महिला नेतृत्व विकास, प्राकृतिक स्रोतमा अधिकार, जलवायु न्याय र वातावरणीय न्यायका क्षेत्रमा गरेको काम प्रस्तुत गरिएको थियो।

इनोल्यागका अनुसार संस्थाले चितवन राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, शिवपुरी राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जलगायत क्षेत्रमा आदिवासी समुदायसँग काम गर्दै आएको छ। हालसम्म करिब १४० जना आदिवासी महिला मानवअधिकार रक्षक तयार गरिएको, २० जिल्लाका करिब १०० महिलालाई निःशुल्क कानुनी सहायता उपलब्ध गराइएको तथा संयुक्त राष्ट्रसंघको युनिभर्सल पिरियडिक रिभ्यु (यूपीआर) लगायत अन्तर्राष्ट्रिय मञ्चमा आदिवासी महिलाका मुद्दा उठाइएको जानकारी पनि कार्यक्रममा दिइयो।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले वन संरक्षण आवश्यक भए पनि त्यसका नाममा आदिवासी जनजातिको सामूहिक अधिकार, भाषा, संस्कृति, परम्परागत ज्ञान र प्राकृतिक स्रोतमा पहुँच कमजोर पार्न नहुने बताए।

गोष्ठीको निष्कर्षमा सहभागीहरूले संरक्षण र आदिवासी अधिकारलाई एकअर्काको विरोधी विषयका रूपमा होइन, परिपूरक अवधारणाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार संरक्षण दिगो बन्न राज्य, संरक्षण निकाय र स्थानीय आदिवासी समुदायबीच समान साझेदारीमा आधारित नीति र संस्थागत सहकार्य अपरिहार्य छ।

प्रकाशित: ११ श्रावण २०८३ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App