पर्यटक भित्र्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन्। इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामा ’कोशी प्रदेशमा पर्यटन’ विषयक साझा संवाद कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन्।
कार्यक्रममा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. ईन्द्रप्रसाद सापकोटाले कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी पर्यटन वर्ष–२०८२ ले कोशी प्रदेशमा पर्यटनको संस्कार र आधार निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए। उनले कोशी प्रदेशमा पर्यटक भित्र्याउने सवालमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले पर्यटन वर्षले निर्माण गरेको आधारमा टेकेर प्रदेशले पर्यटन विकासमा भूमिका खेल्ने स्पष्ट पारे।
कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक भविषकुमार श्रेष्ठले प्रदेशमा पर्यटकको स्पष्ट तथ्यांक नभएकाले कोशी प्रदेशमा कति पर्यटक आएको भनेर दाबी गर्न सक्ने अवस्था नरहेको बताए। उनले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रलाई प्राथिमिकतामा राख्दै आए पनि नीतिगत पहल आवश्यक रहेको बताए। पर्यटन व्यवसायी राजन श्रेष्ठले प्रदेश सरकारले भारतीय पर्यटकहरू नेपाल आउँदा खर्च गर्न प्रोत्साहन गर्ने नीति निर्माण गर्नु पर्नेमा जोड दिए।
उनले नेपाली सुरक्षाकर्मीहरूले भारतीय पर्यटकहरूलाई गर्ने व्यवहारमा समेत परिवर्तन आउनु पर्ने बताए। विशेष गरी भारतीय पर्यटनहरूलाई नेपालका प्रहरीले चेकजाँचका नाममा दु:ख दिने गरेको श्रेष्ठको गुनासो छ। होटल व्यवसायी बासुदेव बराल, होम–स्टे महासंघ, कोशी प्रदेशकी अध्यक्ष लिलादेवी भट्टराईलगायतले प्रदेश सरकारसँगै स्थानीय तहहरू समेत पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण साझेदार हुने धारणा राखे। वसन्त अधिकारीले सहजीकरण गरेको संवाद कार्यक्रममा सरकारी, निजी तथा होटल तथा पर्यटन विषयक अध्यापन हुने शिक्षालयका विद्यार्थीहरूको समेत सहभागि थिए।
प्रकाशित: २२ माघ २०८२ १२:०१ बिहीबार





