देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ११ जनालाई ज्यान गुमाएका छन्।
नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका-१० सिस्नेपुलस्थित सडकमा ना ५ ख ८४१७ नम्बरको ट्रकले लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिई आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा स्कुटर चालक कावासोती नगरपालिका-३ बस्ने ५२ वर्षीय दल बहादुर सुनार बिक र ट्रक चालक बारा परवानीपुर गाउँपालिका-१ बस्ने ३५ वर्षीय रिजवान मिँया रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।
मुस्ताङ, घरपझोङ गाउँपालिका-३ स्याङस्थित सडकमा ग १ त ७५०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक बाग्लुङ निसीखोला गाउँपालिका-५ बस्ने ३० वर्षीय शेर बहादुर घर्ती मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो।
प्युठान, झिमरुक गाउँपालिका-८ गब्दीस्थित सडकमा लु १ ख ८८३७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीय रामु गिरीको आइतबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाही, हरिवन नगरपालिका-२ पाकड गाछीस्थित सडकमा म प्र०२-००८ प २७५३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-२ अत्रौली टोल बस्ने जितेन्द्र महतोको छोरा २ वर्षीय रियान्स महतोको आइतबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
चितवन, रत्ननगर नगरपालिका-५ ज्वाँनीस्थित सडकमा ग प्र ०३-०३७ प ८९५१ नम्बरको स्कुटर गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने ४८ वर्षीय राजु उदासको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
रूपन्देही, तिलोत्तमा नगरपालिका-५ स्थित सडकमा लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-१४ तीनधुरा बस्ने २० वर्षीय खेम भुसालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका(३ जलुवाटोलस्थित सडकमा मे १ ख १७९९ नम्बरको बस र प्र २-०१-००१ ज ००४७ नम्बरको विङगर गाडी एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा सप्तरी घर भएका ३५ वर्षीय शंकर मण्डल, सुनसरी कोशी गाउँपालिका-६ बस्ने ७० वर्षीय लक्षमण सदा तथा हाल नाम, थर र वतन नखुलेकी ४० वर्षीया महिला र १ जना पुरूष रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका शंकर समेत ३ जनाको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा तथा १ जना महिलाको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै, बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उल्लेखित सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २६ श्रावण २०८२ १५:२५ सोमबार





