चितवन राष्ट्रिय निकुञ्जमा एक जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ।
निकुञ्जअन्तर्गत बीस हजारी ताल नजिकैको घोलमा हात्ती मृत अवस्थामा फेला परेको हो। प्रारम्भिक अनुसन्धान अनुसार मृत फेला परेको हात्ती चर्चित जङ्गली हात्ती 'रोनाल्डो' भएको निकुञ्ज प्रशासनले जनाएको छ।
घटनाको थप अनुसन्धान तथा विस्तृत विवरण सङ्कलनका लागि निकुञ्जको प्राविधिक एवं संरक्षण टोली घटनास्थलतर्फ गइसकेको छ।
रोनाल्डो विगत लामो समयदेखि सौराहास्थित सरकारी हात्तीसार आसपासका क्षेत्रमा आउने-जाने गर्दथ्यो। यसअघि उक्त हात्तीको आक्रमणबाट एक देखि दुई दर्जन मानिसले ज्यान गुमाइसकेको निकुञ्जको तथ्याङ्क छ।
हात्तीको मृत्युको वास्तविक कारण भने निकुञ्जको टोलीले अनुसन्धान गरेपछि मात्र खुल्ने बताइएको छ।
प्रकाशित: ३ आश्विन २०८३ ०९:५३ शनिबार





