जुम्लाको पातारासी गाउँपालिका-१, गडिगाउँ बिहानको पहिलो किरणसँगै गाउँ अझै अँध्यारोमा डुबेको हुन्थ्यो। सल्लाको दियालो र टुकी बालेर बालबालिकाले पढ्ने, महिलाले घरायसी काम गर्ने र किसानले पाटपानीको तयारी गर्ने दिनहरू बित्थे।
यस्तै कठिनाइमा गुजारा गर्दै आएका गडिगाउँका स्थानीय हरिबहादुर बोहोराले स्मरण गर्दै भने, ‘अँध्यारोमा जीवन ढिलो चल्थ्यो, बच्चाले पढ्न पाउँदैनथे, महिलाले काम गर्न गाह्रो हुन्थ्यो।’
अहिले उनको घर झिलिमिली छ। ‘बत्ती आएपछि उज्यालो सहरीकरणजस्तो अनुभूति भयो। बिहान बेलुकी खानेपानी सजिलै गर्न सकिन्छ, बच्चाहरू अब टुकी बालेर पढ्न लेख्न बाध्य छैनन्,’ उनले थपे।
चुकेनी खोलाबाट उत्पादित झन्डै एक मेगावाट बिजुलीले अब सदरमुकाम खलङ्गा लगायत जिल्लाका लगभग ७ हजार ५ सय घरधुरीमा उज्यालो पुर्याएको छ। यसले केवल घर उज्यालो मात्र बनाएको छैन, व्यवसाय र सामाजिक जीवनमा पनि नयाँ ऊर्जा भर्न सफल भएको छ।
यस्तै जयबहादुर ऐडीले भने, ‘हामी अब रातदिन बत्ती बाल्न पाउँछौं। गाउँ-गाउँमा कुटानी-पिसानी मिल, काठ च्यात्ने मेसिन र तेल पेल्ने यन्त्र सञ्चालनमा आए। बालबालिकाले राम्रोसँग पढ्न लेख्न पाए। अँध्यारोले रोकिएको जीवन अब गतिशील भएको छ।’
अर्का रामबहादुर ऐडीले अनुभव सुनाए, ‘पहिले बिरामीलाई अँध्यारोमा ल्याउन गाह्रो हुन्थ्यो। अहिले स्वास्थ्यचौकी, घर र सडक उज्यालो भएका छन्। गाउँ झिलिमिली उज्यालो भयो। यो मात्र बिजुली होइन, जीवन नै बदलिएको अनुभूति हो।’
चुकेनी जलविद्युत सहकारी संस्थाले ९९८ किलोवाट क्षमताको बिजुली उत्पादन गर्दै मासिक ७ देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छ। पातारासी गाउँपालिकाका ३ हजार ३ सय नागरिकले सेयर लगानी गरेका छन्।
चुकेनी जलविद्युत सहकारीका अध्यक्ष गोरबहादुर बुढाले भने, ‘हामीले केवल बिजुली वितरण मात्र होइन, आर्थिक र सामाजिक विकासको ढोका पनि खोल्न खोजेका छौं। बैंकको ऋण तिर्दै पनि आयोजना लाभदायी छ।’
पहिले जुम्लामा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर अब जुम्लाको खलंगा सदरमुकामसहित पातारासीका अधिकांश घर, विद्यालयमा कम्प्युटर चल्छन्, स्वास्थ्यचौकी, होटल, साना उद्योग र लिफ्ट सिँचाइसम्म गुणस्तरीय बिजुली पुगेको छ।
गडिगाउँका बूढाहरू भन्छन्, ‘पहिले उज्यालो देख्न सहर जानुपर्थ्यो। आज हाम्रो गाउँ नै सहरजस्तै चम्किएको छ।’ आज त्यो इतिहासजस्तै लाग्छ। ४५ करोड २८ लाख रुपैयाँ लागतमा बनेको यो आयोजना गाउँलेको दैनिकी मात्र उज्यालो बनाएको छैन; यसले शिक्षा, स्वास्थ्य, व्यवसाय र सामाजिक जीवनमा परिवर्तन ल्याएको छ। गाउँले भन्छन्, ‘अँध्यारो हट्यो, उज्यालो आयो, जीवन सजिलो भयो।’
चुकेनी जलविद्युत अब पातारासी र वरिपरिका गाउँमा केवल बिजुलीको स्रोत नभएर सकारात्मक परिवर्तन र सम्भावनाको आधार, विकासको शक्ति र आत्मनिर्भरताको प्रतीक बनिसकेको छ।
प्रकाशित: १८ मंसिर २०८२ ११:२९ बिहीबार




-600x400.jpg)
