१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै हुने

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र तिङ्कर गाउँका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्नुपर्ने भएको छ। गत मङ्सिरमा यहाँका दुवै गाउँका स्थानीय बसाइँसराइ (कुञ्चा) सरेर खलङ्गा आएका कारण निर्वाचन खलङ्गा मै हुने भएको हो।

विसं २०७९ को स्थानीय तह निर्वाचन छाङ्गरु र तिङ्करकै मतदान केन्द्रमा भएको थियो। यसपटक स्थानीयको बसाइँसराइ सरेको कारण दुवै मतदान केन्द्र खलङ्गा मै कायम गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। यहाँको वडामा दुई वटा मतदान केन्द्र कायम छ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार कैलाशपति आधार भूतविद्यालय छाङरुमा ३७५ जना र मोतिमहिला सङ्घ आधारभूत विद्यालय तिङ्कर केन्द्रमा २४४ जना मतदाता छन्।

विसं २०७९ मा भएको स्थानीय तह प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा छाङरुको मतदान केन्द्रमा ३८३ र तिङ्कमा २३४ जना मतदाता थिए। यसैगरी प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि दार्चुलामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन्। जिल्ला सुरक्षा समिति दार्चुलाका अनुसार तोकिएकामध्ये २२ मतदान केन्द्र अति सम्वेदनशील सूचीमा राखिएको छ।

जिल्लामा रहेका १४३ मतदान केन्द्रमध्ये २२ अति सम्वेदनशील, ४१ सम्वेदनशील र ७८ सामान्य सूचीमा राखेर विभाजन गरिएको जिल्ला सुरक्षा समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। यसपटक भौगोलिक दुर्गमता, विगतका निर्वाचन अनुभव, सुरक्षा निकायको पहुँचलगायतलाई आधार मानेर वर्गीकरण गरिएको उनको भनाइ छ।

यस पटक जिल्लामा विसं २०७९ को निर्वाचनको तुलनामा दुई हजार १६६ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन अधिकारी प्रदीप सिंह धामीका अनुसार विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ९० हजार ७८२ रहेका मतदाता सङ्ख्या रहेकोमा हाल बढेर ९२ हजार ९४८ पुगेको छ।

धामीका अनुसार हाल कायम रहेका मतदातामध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता छन्। नौ वटा स्थानीय तह रहेको दार्चुलामा शैल्यशिखर नगरपालिकामा १५ हजार ५१६ मतदाता छन् भने महाकाली नगरपालिकामा १४ हजार १४३ मतदाता कायम भएका छन्।

मालिकार्जुन गाउँपालिकामा ११ हजार ८७८, लेकम गाउँपालिकामा १० हजार ३११ र नौगाड गाउँपालिकामा १० हजार ८८ मतदाता रहेका छन्। मार्मा गाउँपालिकामा नौ हजार ६१३, दुहुँ गाउँपालिकामा आठ हजार ४४१, व्यास गाउँपालिकामा आठ हजार १६२ तथा अपी हिमाल गाउँपालिकामा चार हजार ७९६ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २६ पुस २०८२ १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App