वायु प्रदूषणको सवाल, वर्तमान अवस्था र नीतिगत पहलहरूबारे सरोकारवालाहरूसँग राष्ट्रिय संवाद काठमाडौंको नयाँ बानेश्वरमा सम्पन्न भएको छ।
क्लिन अप नेपाल र जिडी ल्याब तथा रिसर्चको संयुक्त आयोजनामा तथा एपिक एयर क्वालिटी फण्डको सहयोगमा आयोजित कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी वातावरण निरीक्षक रीना चौधरीले वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने दीर्घकालीन र गम्भीर असरहरूबारे प्रकाश पारिन्। साथै, नेपाल सरकार तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदूषण संकटलाई विपद् सूचीमा राख्ने उद्देश्यसहित गरिरहेका प्रयासहरू र अन्य सरोकारवाला निकायहरूसँगको सहकार्यबारे जानकारी गराइन्।
कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिका कार्यालय तथा काठमाडौं उपत्यकाभित्रका अन्य नगरपालिकाबाट सहभागी प्रतिनिधिहरूले वायु प्रदूषण न्यूनीकरणका लागि स्थानीय सरकारले गरेका अभ्यासहरू प्रस्तुत गरे। सहभागीहरूले प्रदूषण नियन्त्रणका लागि एकीकृत पहल आवश्यक रहेको, स्थानीय सरकारको स्रोत तथा क्षमता विकासमा जोड दिनुपर्ने र सामाजिक संस्थाहरूले समुदायस्तरमा सचेतना र क्षमता विकासमा भूमिका बढाउनुपर्ने धारणा व्यक्त गरे।
क्लिन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले वायु प्रदूषणका कारणहरू, यसले जनस्वास्थ्यमा पारेको प्रभाव र संस्थाले काठमाडौं उपत्यकाका ३९ विद्यालय तथा एक समुदायमा वायु गुणस्तर मापन यन्त्र स्थापना, विद्यालयस्तरमा सचेतना विस्तार तथा प्रदूषण न्यूनीकरणका लागि तथ्यमा आधारित नीतिगत वकालतसम्बन्धी गतिविधिबारे प्रस्तुति दिए। उनले प्रभावकारी नीति विश्लेषण, नीति निर्माणमा सरोकारवालाको सहभागिता सुनिश्चित गर्न र प्रदूषण न्यूनीकरणमा योगदान पुर्याउन आगामी दिनमा सहकार्य बढाइने बताए।
जिडी ल्याब एण्ड रिसर्चका प्रमुख प्राविधिक अधिकृत समिप सिग्देलले “सहज रूपले स्वास लिउँ, बालबालिकालाई प्रदूषणबाट जोगाऔँ” कार्यक्रमअन्तर्गत उपत्यकाका ३९ विद्यालय तथा एक समुदायमा जडान गरिएका वायु गुणस्तर मापन यन्त्रबाट प्राप्त नतिजाले समुदाय, विद्यालय र स्थानीय सरकारलाई प्रदूषण न्यूनीकरणतर्फ उत्प्रेरित गरेको बताए।
कार्यक्रमका सहभागीहरूले वायु प्रदूषणको जोखिम कम गर्न नीतिगत स्पष्टताका लागि थप वकालत गर्नुपर्ने, सबै तहका सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम तथा व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकाले।
१४ महिलासहित ४७ जनाको सहभागिता रहेको कार्यक्रमको सहजीकरण वकालत तथा अभियान सल्लाहकार प्रेम प्रकाश नेपालीले गरेका थिए।
प्रकाशित: १७ पुस २०८२ ०८:०८ बिहीबार





