कर्णाली प्रदेशमा पछिल्ला चार आर्थिक वर्षको तथ्यांकले लागुऔषध प्रयोग र कारोबार दुवै तीव्र रूपमा बढिरहेको देखाएको छ। प्रहरीको अभिलेखअनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ को जेठ मसान्तसम्म आइपुग्दा लागुऔषधसम्बन्धी मुद्दा, पक्राउ पर्ने व्यक्ति तथा बरामद हुने लागूऔषधको परिमाणमा उल्लेखनीय वृद्धि भएको छ।
आव २०७९/८० मा कर्णालीमा लागुऔषधसम्बन्धी ११४ वटा मुद्दा दर्ता भएका थिए। ती मुद्दामा २१५ जना पक्राउ परेका थिए। त्यस वर्ष १०४ ग्राम ब्राउन सुगर, १६३ ग्राम ९६७ मिलिग्राम चरेस, ६८७ ग्राम ८२ मिलिग्राम गाँजा र २७१ वटा लागुऔषधजन्य ट्याबलेट बरामद गरिएको थियो। आव २०८०/८१ मा मुद्दा संख्या केही घटेर १०६ पुगे पनि १६८ जना पक्राउ परेका थिए। यस अवधिमा १३७ ग्राम ब्राउन सुगर, ३०२ ग्राम चरेस, दुई केजी ५२ ग्राम गाँजा, ९४० मिलिग्राम अफिम र ३६३ वटा ट्याबलेट बरामद गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ। तर आव २०८१/८२ देखि अवस्था लागुऔषधको जालो बढ्दै गएको देखिन्छ। उक्त वर्ष लागुऔषधसम्बन्धी १८७ मुद्दा दर्ता भए, जुन अघिल्लो वर्षको तुलनामा ८१ वटा बढी हो।
पक्राउ पर्नेको संख्या पनि ३०५ पुगेको छ। यस वर्ष २३८ ग्राम २९० मिलिग्राम ब्राउन सुगर, तीन केजी ९०८ ग्राम १३२ मिलिग्राम चरेस, एक केजी ७३९ ग्राम ४८१ मिलिग्राम गाँजा, ६६ केजी २९५ ग्राम अफिम (अफिमको बिउसहित) तथा ११ हजार ४७४ वटा लागुऔषधजन्य ट्याबलेट बरामद गरिएको थियो। विशेषगरी अफिम र ट्याबलेट बरामदको मात्रा अघिल्ला वर्षहरूको तुलनामा अस्वाभाविक रूपमा बढेको देखिन्छ।
आव २०८२/८३ को जेठ मसान्तसम्म मात्रै लागुऔषधसम्बन्धी २०१ वटा मुद्दा दर्ता भइसकेका छन्। यो संख्या अघिल्लो आवको कुल मुद्दाभन्दा पनि बढी हो। यस अवधिमा ३५० जना पक्राउ परेका छन्। प्रहरीले ३५९ ग्राम ८२३ मिलिग्राम ब्राउन सुगर, दुई केजी ४८० ग्राम ८७३ मिलिग्राम चरेस, दुई केजी ३६१ ग्राम ३९६ मिलिग्राम गाँजा, १८ केजी १२० ग्राम ५६१ मिलिग्राम अफिम तथा तीन हजार २९४ वटा ट्याबलेट बरामद गरेको छ। चार आवको तथ्यांकलाई तुलना गर्दा कर्णालीमा लागुऔषधसम्बन्धी अपराध क्रमशः बढ्दो अवस्थामा रहेको स्पष्ट देखिन्छ। आव २०७९÷८० मा ११४ रहेको मुद्दा संख्या आव २०८२/८३ को जेठ मसान्तम २०१ पुगेको छ। अर्थात् चार वर्षको अवधिमा मुद्दा संख्या करिब ७६ प्रतिशतले वृद्धि भएको छ। कर्णालीमा पक्राउ पर्ने व्यक्तिको संख्या पनि बर्सेनि निरन्तर बढ्दो क्रममा छ। २०७९÷८० मा २१५ जना पक्राउ परेका थिए भने चालु आवको जेठ मसान्तसम्म ३५० जना पक्राउ परिसकेका छन्।
बरामद हुने लागुऔषधको स्वरूप पनि परिवर्तन हुँदै गएको देखिन्छ। सुरुका वर्षहरूमा ग्रामका हिसाबमा बरामद हुने पदार्थ पछिल्ला वर्षहरूमा केजीका हिसाबमा बरामद हुन थालेका छन्। विशेष गरी अफिम र लागुऔषधजन्य ट्याबलेटको बरामदले कर्णालीमा नयाँ प्रकारका लागुऔषधको पहुँच बढिरहेको संकेत गरेको छ।
लागुऔषध कारोबारमा संलग्न गिरोहको सक्रियता, युवामा बढ्दो दुव्र्यसन, अन्तरजिल्ला तथा अन्तरप्रदेश सञ्जाल, खुला सिमाना र यातायात पहुँच विस्तारले समेत कर्णालीमा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सुरक्षा अधिकारीहरूको भनाइ छ।
यद्यपि बढ्दो मुद्दा र पक्राउ संख्या प्रहरीले अनुसन्धान तथा निगरानीलाई प्रहरीले थप प्रभावकारी बनाएको पाइएको छ। लागुऔषध नियन्त्रणमा प्रहरीको विशेष सक्रियतासँगै प्रहरीले समुदाय, परिवार, विद्यालय तथा स्थानीय तहमै पुगेर लागुऔषध नियन्त्रण र रोकथामका लागि अभियान चलाइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख (डिआइजी) जयराज सापकोटाले बताए।
सुदूरपश्चिममा पनि करोबार वृद्धि
भारतसँग खुला सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा लागुऔषध कारोबार, ओसारपसार र प्रयोगसँग सम्बन्धित घटनाहरू वृद्धि भएको देखिएको छ। त्यससँगै प्रहरीले सञ्चालन गरेको नियन्त्रण अभियान पनि थप सक्रिय बन्दै गएको तथ्यांकले देखाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार आव २०८०÷८१ मा लागुऔषधसम्बन्धी ५४५ वटा मुद्दा दर्ता भएका थिए। ती मुद्दामा ११ जना भारतीय नागरिकसहित ७९६ जना पक्राउ परे।
उक्त अवधिमा प्रहरीले ९३ किलो ५९२ ग्राम ६३१ मिलिग्राम गाँजा, ८२ किलो २१ ग्राम २०३ मिलिग्राम चरेस र ८२६ ग्राम ४४ हेरोइन बरामद गरेको थियो। त्यसको अर्को वर्ष अर्थात् आव २०८१÷८२ मा लागूऔषधसम्बन्धी गतिविधि अझ बढेको देखिएको छ। यो अवधिमा ६९३ वटा मुद्दा दर्ता भयो। भारतीय १० पुरुषसहित एक हजार ४३ जनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा चलाइएको थियो। यो संख्या अघिल्लो आवको तुलनामा उल्लेखनीय रूपमा बढी हो। बरामद लागुऔषधको तथ्यांकले पनि कारोबारको स्वरूप परिवर्तन हुँदै गएको संकेत गर्छ।
उक्त वर्ष प्रहरीले तीन किलो ६४१ ग्राम १८ मिलिग्राम गाँजा, ११३ किलो १३ ग्राम ७६८ मिलिग्राम चरेस तथा एक किलो ४९४ ग्राम ७८६ मिलिग्राम हिरोइन बरामद गरेको थियो। गाँजाको परिमाण घटे पनि चरेस र हेरोइनको बरामद मात्रा बढेको देखिन्छ। यसबाट उच्च मूल्यका लागुऔषधतर्फ कारोबारीको आकर्षण बढ्दै गएको अनुमान गर्न सकिन्छ। यस्तै आव २०८२/८३ को जेठ मसान्तसम्म मात्रै ६०० वटा मुद्दा दर्ता भइसकेका छन्। यस अवधिमा भारतीय चार पुरुषसहित ९७१ जना पक्राउ परेका छ। प्रहरीले एक किलो ६१९ ग्राम ४८८ मिलिग्राम गाँजा, ४१ किलो २०९ ग्राम ११७ मिलिग्राम चरेस र एक किलो ५४२ ग्राम हेरोइन बरामद गरेको जनाएको छ।
सुदूरपश्चिममा तीन आवको तथ्यांकलाई विश्लेषण गर्दा लागुऔषधसम्बन्धी मुद्दा निरन्तर उच्च दरमा रहेको देखाएको छ। चालु आवको जेठ मसान्तमै ६०० मुद्दा पुगिसकेको अवस्थामा वर्ष समाप्तिसम्म अघिल्लो वर्षको तथ्यांक नाघ्ने सम्भावना देखिन्छ। पक्राउ पर्ने व्यक्तिको संख्या पनि प्रत्येक वर्ष बढ्दो अवस्थामा रहेको छ। तीन वर्षमा मात्रै दुई हजार ८१० जनाभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परिसकेका छन्।
यसले सुदूरपश्चिममा लागुऔषधको अवैध सञ्जाल विस्तार तीव्र रूपमा भइरहेको हुन सक्ने आकलन गर्न सकिन्छ। प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाउने, विशेष अपरेसन सञ्चालन गर्ने समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बनाउनेलगायत काम गरिरहेको जनाएको छ।
प्रकाशित: २६ असार २०८३ ११:५६ शुक्रबार





