भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पस अगाडि रहेको भाज्या पुखुमा बुधबार दिउँसो अचानक कोलाहल मच्चियो। पोखरीमा डुबेका व्यक्तिहरू ‘बचाओ’ भन्दै कराइरहेको दृश्यले उपस्थितलाई क्षणभर त्रसित बनायो। तर त्यो वास्तविक घटना नभई जल उद्धार अभ्यासको हिस्सा थियो।
जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा तथा आरएनए १६ को सहकार्यमा ‘जल उद्धार अभ्यास–२०८३’ सञ्चालन गरिएको हो। मनसुनको सुरुवातसँगै बाढी–पहिरोका कारण हुनसक्ने डुबान जोखिमलाई मध्यनजर गर्दै यस्तो अभ्यास गरिएको प्रहरीले जनाएको छ।
वैशाख २० गतेदेखि २३ गतेसम्म चार दिन सञ्चालन भएको तालिम बुधबार समापन गरिएको छ। समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सम्भावित प्राकृतिक विपद्बाट जोगिन र उद्धार गर्न आवश्यक सीप विकासका लागि यस्तो अभ्यास उपयोगी हुने बताए। यसले आगामी दिनमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
अभ्यासमा सहभागी ६० जना प्रहरी कर्मचारीलाई जल उद्धारसम्बन्धी प्रशिक्षण दिइएको थियो। कार्यक्रममा आरएनए १६ का प्रशिक्षक अरुण सैंजूले जलजन्य विपद् प्रतिकार्यसम्बन्धी सीप र ज्ञान प्रदान गर्दै यस्तो अभ्यास समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिए। उनलाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मानसमेत गरिएको थियो।
समापन समारोहमा श्री रणशेर गणका गणपति प्रहरी वरिष्ठ उपरीक्षक निरज प्रताप राणाको विशेष आतिथ्यता रहेको थियो भने भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का र प्रहरी नायब उपरीक्षक प्रकाश जवेगू अतिथिका रूपमा सहभागी थिए।
उक्त तालिममा रणशेर गण सूर्यविनायक ब्यारेक र आरएनए १६ को प्राविधिक सहयोगमा ६० जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन, पूर्वतयारी तथा उद्धारसम्बन्धी अभ्यास गराइएको थियो।
प्रकाशित: २३ वैशाख २०८३ १९:४५ बुधबार





