खोटाङमा आफ्नै अटो रिक्सामा बेहोस अवस्थामा भेटिएका एक चालकको मृत्यु भएको छ।
शनिबार दिउँसो दिक्तेल बजारमा आफूले चलाउने गरेको अटोमै अचेत फेला परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८, बुवासुङका ४५ वर्षीय जीतबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार, राई शनिबार दिउँसो ३ बजे सदरमुकाम दिक्तेलको रत्नपार्कमा आफूले चलाउने प्र १–०२–००४ ह ६६८२ नम्बरको अटोभित्र अचेत अवस्थामा फेला परेका थिए।
स्थानीयले देखेपछि प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, दिक्तेल पुर्याइएको थियो।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उपचार सुरु भएको केही समयपछि अस्पतालले उनलाई मृत घोषित गरेको थियो।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १८ आश्विन २०८२ २१:५७ शनिबार





