२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

लतको तिर्सनाले गुमेका सपना

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसछेउमा भीड सामान्य थियो, तर त्यही भीडबिच एक युवती मृत फेला परेको खबरले सहरभरि बेचैनी फैलायो। ती युवती थिइन्, ‘राप्तीसोनारीकी २२ वर्षीया मीना।’

केही समयदेखि ‘ब्राउन सुगर’ को चपेटामा परेकी उनी त्यही नशाको दलदलमै जीवन हार्दै गइन्। घरको आर्थिक अभाव, साथीहरूको प्रभाव र बेरोजगारीको निराशा यी सबैले मिलेर एक युवतीलाई एकछिनको आनन्दका नाममा अन्तिम मोडसम्म पुर्‍याइदिए। उनका आँखामा पनि भविष्यका सपना थिए, तर लतको तिर्सनाले अन्ततः ती सपना निल्यो।

यति असामयिक मृत्यु, केवल घटनाको विवरणजस्तो सुनिए पनि यसले बाँकेको वास्तविकता नांगै पारिदिन्छ। बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसी भन्छन्, ‘मृत्युमा थुप्रै कारण हुन्छन् तर दुव्र्यसन एउटा महत्त्वपूर्ण कारण अवश्य हो।’

यही कथन स्थानीय अवस्था बुझ्न पर्याप्त छ लागुपदार्थले बाँकेको समाजभित्र नयाँ नर्क निर्माण गरिरहेछ।

भारतसँगको खुला सीमा र असहज निगरानीले बाँके अहिले लागुपदार्थको मुख्य प्रवेशविन्दु बनेको छ। खुला सीमा त नशाका कारोबारीका लागि खुला ढोका नै बनेको छ। रोजगारीको खोजी, व्यापार, उपचार वा भेटघाटका नाममा भारत जाने–आउने सहजता दुर्भावनाका लागि उत्तिकै उपयोग भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा मात्र दुई सय १३ वटा लागुपदार्थसम्बन्धी मुद्दा दर्ता भएका छन् भने ३१९ जना पक्राउ परेका छन्। चालु वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा ६१ मुद्दा दर्ता र ८७ पक्राउ परेका छन्। यो आँकडाले नशाको प्रवाह रोकिएको छैन, अझै तीव्र गतिमा फैलिँदै छ भन्ने संकेत दिन्छ। बाँकेका हिरासत कक्ष, अदालतको फाइल, कारागारका ओछ्यान जताततै ‘नशा’ नामको एकै अपराध च्यापिएको देखिन्छ।

उत्तम उप्रेती वर्षौंदेखि दुर्व्यससनविरुद्ध अभियान चलाउँदै आएका व्यक्ति हुन्। उनका अनुसार यो समस्या कुनै सहर, कुनै परिवार वा कुनै परिस्थितिमा मात्र सीमित छैन। साथीभाइको लहलही, प्रेममा पाएको चोट, पढाइमा असफलता, आत्मविश्वासको कमी, बेरोजगारीले ल्याएको आन्तरिक तनाव यी सबै एकसाथ मिसिँदा युवा पुस्तालाई नशातिर धकेल्छ। अहिले त विद्यालयमा अध्ययनरत बालबालिकासमेत जोखिममा छन्। ‘रमाइलो’ भनेर सुरु हुने चुरोटको धुवाले कति जीवनको दिशा बदलिदिन्छ, यसका उदाहरण गाउँटोलमा सजिलै भेटिन्छन्।

त्यस्तै एक उदाहरण हुन् - दिलराम। स्कुलमै चुरोट तान्न सिकेका उनलाई त्यो चुरोटको धुवाँले १४ वर्षसम्म नशाको नर्कमा थामेर राख्यो। सुरुमा साथीहरूको उक्साहटमा चुरोट, पछि कोरेक्स र अन्य पदार्थ। परिवारलाई सुरुमा केही थाहा भएन। पढाइ खस्कियो, खर्च बढ्यो, व्यवहार बिग्रन थाल्यो। १६ वर्ष पुग्दापुग्दा त उनी चोरी गर्नेसम्मको अवस्थासम्म पुगे।

अन्ततः परिवारले कठिन निर्णय गर्दै उनलाई सुधार गृह पुर्‍यायो। एक वर्षको उपचार, मनोसामाजिक परामर्श र कडा आत्मसंयमपछि मात्र दिलराम पुरानो जीवन फर्काउन सफल भए। उनी अहिले आफैं जस्तै लतमा फसेकाहरूलाई उद्धार गर्न सक्रिय छन्, मुक्ति सम्भव छ भन्ने जीवन्त उदाहरण बनेर।

यस्ता कथाले सतहमा एउटा कुरा प्रस्ट पार्छ - नशा केवल शरीर बिगार्ने पदार्थ होइन, यो मानसिक उत्पीडन, सामाजिक विखण्डन र पारिवारिक विनाशको गलैंचा हो तर यो समस्या समाधानका लागि प्रहरी मात्रै पर्याप्त हुँदैन। एसपी जिसी भन्छन्, ‘प्रहरी कडा हुन्छ/ हुँदैन भन्ने बहसभन्दा ठूला कुरा परिवार र समाजले कति जिम्मेवारी निर्वाह गर्छन् भन्ने हो।’

उनी भन्छन्, ‘अभिभावकले आफ्नो बच्चाको समय, खर्च, साथी, व्यवहार यी सबै निगरानी गर्नुपर्छ। बच्चा विद्यालय गए कि गएन, घरमा को कति भेट्न आउँछन्, हातमा कति पैसा छ। यी सामान्यजस्तै लाग्ने प्रश्नहरू नै धेरै युवालाई दुर्व्यससनबाट जोगाउन सक्षम हुन्छन्।’

उनका अनुसार दुव्र्यसनलाई ‘बदमासी’ बुझ्ने दृष्टिकोण नै गलत हो। यो रोग हो, उपचार आवश्यक छ, समयमै परामर्श र सुधारगृहमा पुर्‍याउन सके ज्यान जोगिन्छ। जयसपुर, खजुराखुर्द जस्ता उच्च जोखिम क्षेत्रमा कडाइ बढाएको उनी बताउँछन्। स्थानीयले वर्षौंदेखि उजागर गर्दै आएका अवैध गतिविधि अहिले धेरै हदसम्म थामिएको दाबी पनि गर्छन् तर उनी स्वयम् मान्छन्, ‘प्रहरी मात्रले यो समस्या उखेलिन्न। परिवार, विद्यालय, समाज र स्वयं युवाहरूको सहभागिता अनिवार्य छ।’

मिनाको मृत्युले बाँकेको सामाजिक संरचना कति कमजोर बन्दै छ भन्ने प्रश्न उठाउँछ। नशाले ज्यान मात्रै लिँदैन भविष्य चुस्छ, परिवार तोड्छ, समाजलाई अविश्वासले भरिदिन्छ। एकछिनको आनन्दको खोजीमा युवाहरूले आफ्नो भोलि बेचिरहेका छन् र हामी समाजका रूपमा मौनदर्शक बन्दै हिँडिरहेका छौं। अन्त्यमा कुरा एउटैमा आएर अडिन्छ नशा फैलिएको छ, लत बढ्दै छ, मृत्युका घटना डरलाग्दो भइरहेका छन् तर युवालाई फस्नै नदिने वातावरण निर्माण गर्ने जिम्मा भने परिवार, विद्यालय र समाजकै काँधमा छ। उपचार, परामर्श, पुनस्र्थापना यी सबै सहायक उपाय हुन्, तर रोकथाम नै दीर्घकालीन समाधान हो।

मिना र देविसरा अब फर्केर आउँदैनन्, तर उनीहरूको जीवनले दिएको चेतावनी भने बाँकेका सयौं युवाहरूलाई बचाउन अझै उपयोगी हुन सक्छ। ‘एकछिनको आनन्द’ ले फेरि अर्को घरको उज्यालो चुस्नुअगाडि समाजले आँखा खोल्न जरुरी छ।

प्रकाशित: २१ मंसिर २०८२ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App