१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

बुद्ध परिपथ विकासको ढोका खुला

लुम्बिनी क्षेत्रको बृहत्तर विकास योजनाकालागि ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अन्र्तगत पूर्वाधार सुधार कार्यक्रमको चार पालिकाले बितीय सम्झौता गरेका छन  । यससँगै लुम्बिनीको बृहत्तर विकासकालागि कपिलवस्तु, रुपन्देही र नपलपरासीमा रहको बुद्धस्थलको विकासकालागि बाटो खुला भएको छ ।  

ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (जिएलएडी) अन्तर्गत पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग (डियुडिबिसी) र बुद्ध परिपथ क्षेत्रका चार नगरपालिका बीच सम्झौता सम्पन्न भएको हो । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रुपन्देही र नवलपरासी (बसुप) जिल्ला समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अन्र्तगत पूर्वाधार सुधार कार्यक्रम संचालन गर्ने सम्झौता गरिएको हो ।  

शहरी विकास तथा भवन निर्माण विभागमा बुधबार आयोजित विशेष समारोहबीच सम्पन्न सम्झौतामा कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, , लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक मेयर कल्पना हरिजन , रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव तथा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुब प्रसाद खरेलले हस्ताक्षर गरेका थिए । विभागको तर्फबाट भने महानिर्देशक रवीन्द्र बोहराले हस्ताक्षर गरेका हुन् । परियोजना अन्तर्गत नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) सँग वित्तीय सम्झौता गरी ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना कार्यान्वयन गरिरहेको छ । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले परियोजाले ३ जिल्लामा रहेको बुद्ध परिपथको विकासकालागि ढोका खुलेको बताए ।

यस्ले बुद्ध परिपथ क्षेत्रमा पर्यटनसम्बन्धी पूर्वाधार तथा सेवामा सुधार गर्नुका साथै स्थानीय रोजगारी प्रवद्र्धन गर्ने उनले बताए । ‘ यो परियोजना कपिलवस्तु सहीत ३ जिल्लामा रहेको बुद्ध परिपथको विकासकालागि निकै ठुलो उपलब्धी हो ’ उनले भने । परियोजनाको समग्र व्यवस्थापन, समन्वय तथा अनुगमनको जिम्मेवारी शहरी विकास तथा भवन निर्माण विभागलाई दिइएको छ भने परियोजना अन्तर्गत सहभागी नगरपालिका मार्फत स्थानीय पूर्वाधार सुधार कार्यक्रम सञ्चालन गरिनेछ ।  

अर्थ मन्त्रालयले स्थानीय पूर्वाधार सुधारका लागि सहभागी नगरपालिकाहरूलाई कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत त्रैमासिक रूपमा सशर्त अनुदान उपलब्ध गराउने सहमति जनाएको छ । परियोजनामार्फत शहरी तथा पर्यटन पूर्वाधार योजना, सम्पदा–संवेदनशील तथा जलवायु–उत्थानशील डिजाइन, खरिद व्यवस्थापन, वित्तीय प्रशासन, नागरिक सहभागिता, वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन लगायतका क्षेत्रमा नगरपालिकाहरूलाई प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराइने जनाइएको छ ।  

यसैगरी, परियोजनाले स्थानीय तहको क्षमता अभिवृद्धि, नीति तथा कानुन पुनरावलोकन तथा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमलाई समेत प्राथमिकता दिने प्रमुख प्रशासकीय अधिकृत बिनय कुमार श्रीवास्तवले बताए । चारवटै नगरपालिकाले परियोजनामा सहभागी भई विश्व बैंकका मापदण्ड तथा प्रचलित कानुनको पूर्ण पालना गर्दै स्थानीय पूर्वाधार सुधार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

विगतदेखि बुद्ध परिपथ क्षेत्रका नगरपालिकाबीच हुँदै आएको सहकार्य, समन्वय तथा आपसी समझदारीलाई यस सम्झौताले थप मजबुत बनाउने बताइएको छ । परियोजनाले बुद्ध परिपथ क्षेत्रको पर्यटन, पूर्वाधार विकास तथा समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । सम्झौताको साक्षीका रूपमा, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डे, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकर पौडेल तथा इन्जिनियर आशिष कुमार यादव सहभागी भएका थिए ।  

त्यस्तै शहरी विकास तथा भवन निर्माण विभागको तर्फबाट उपमहानिर्देशक एकराज अधिकारी, ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाका निर्देशक लीला खतिवडा तथा आईटी विज्ञ अमित उपाध्याय साक्षीका रूपमा सहभागी भएका थिए । कार्यक्रममा सम्बन्धित नगरपालिकाका इन्जिनियर तथा प्राविधिक कर्मचारीहरूको सहभागिता थियो ।

 

प्रकाशित: १६ जेष्ठ २०८३ १६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App