गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा यादव भरतपुर महानगरपालिका-१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका थिए। धनुषाको हंशपुर नगरपालिका-४ का स्थायी बसोबासी डा यादवका बारेमा अनुसन्धान गर्दा उनी अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा निजको मोबाइल तथा अन्य विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेला परेको छ।
भरतपुरको एक अस्पतालमा कार्यरत डाक्टर यादवले हालसम्म के-कति व्यक्तिबाट कति ठगी गरे भन्नेबारेमा स्रोत खुल्दै गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए। रासस
प्रकाशित: १९ जेष्ठ २०८३ १२:१९ मंगलबार





