२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

‘डाइभर्सिटी कार्निभल’: सीमान्तकृत युवाको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले आयोजना गरेको ‘डाइभर्सिटी कार्निभल–विविधताको उत्सव २०२५’ सकिएको छ। 

देशभरका विभिन्न जाति, लिङ्ग, भाषा, भौगोलिक क्षेत्र र पहिचानका डेढ सयभन्दा बढी युवाको सहभागितासहितको यो कार्यक्रम अन्तरक्रिया, कार्यशाला र सृजनात्मक प्रस्तुतिले भरिएको उत्सवका रूपमा मनाइएको हो।  

मुसहर समुदायबाट पहिलो पटक चिकित्सक बन्न सफल डा.स्मृति हरिजनले सीमान्तकृत समुदायका युवाका लागि आफ्नो जीवनयात्रा, संघर्ष र उपलब्धिबारे प्रेरणादायी सन्देश दिइन्।  

‘सपना, संघर्ष र सफलता’ शीर्षकमा भएको प्यानल छलफलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा, अभिनेता नाजिर हुसेन, मधेस प्रदेश सरकारका उपसचिव सुनिल कुमार पासवान र डिसएबिलिटी नेपालकी उपाध्यक्ष मीना जोशीले आ–आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए । वैदेशिक रोजगारीका क्षेत्रमा सक्रिय अभियन्ता महेन्द्र पाण्डेले पनि सीमान्त आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै भारतका प्रख्यात सामाजिक अभियन्ता तथा रामोन म्यागसेसे पुरस्कार विजेता बेजवाडा विल्सन र चर्चित लेखक सीके लालले पनि आ-आफ्नो अनुभव साटेका थिए ।  

कार्यक्रमको अन्त्यतिर युवाद्वारा तयार गरिएको ‘युथ डिक्लेरेशन’ प्रस्तुत र अनुमोदन गरिएको थियो। समापन सत्रमा सारंगीवादक किरण नेपालीको समूह र महिलाहरूको ब्याण्ड ‘कासा’ ले सांगीतिक प्रस्तुति दिएका थिए। साथै, चार कलाकारले एउटै क्यानभासमा चित्रकला प्रदर्शन गर्दै विविधता र एकताको सन्देश प्रेषण गरे।  

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका अध्यक्ष प्रदीप परियारले ‘डाइभर्सिटी कार्निभल’लाई विविधता र समावेशिताको अभ्यासका रूपमा वर्णन गर्दै यसबाट सीमान्तकृत युवाको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य रहेको बताए। उनका अनुसार, छलफल र कार्यशालाबाट आएका निष्कर्ष र सुझावहरू सम्बन्धित निकायमा पेश गरिनेछ।

संस्थाले यस कार्यक्रमले युवालाई जातीय असमानता, भेदभाव र प्रतिकूलताविरुद्ध बोलेर, सुनेर र सिर्जनात्मक रूपमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित: २७ श्रावण २०८२ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App