२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ ।  

सडकअन्तर्गत जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत यातायात सञ्चालनको तयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन ।  

जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिजन इलाममार्फत धमाधन डाइभर्सन निर्माण भइरहेको प्रजिअ नेपालले जानकारी दिइन । इजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा १० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको छ ।  

यही असोज १८ गतेको भारी वर्षापछिको बाढीले यहाँ गत असारमा निर्माण गरिएको बेलिब्रिज बगाएपछि यो सडकमा यातायात अवरुद्ध छ । यस सडकखण्डले इलाम सदरमुकामको तिल्केनीदेखि मेची राजमार्गको गोदक जोड्छ । यहाँबाट आजैदेखि साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ नेपालले बताउनुभयो । तत्कालका लागि आइतबार तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार-फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको थियो ।

पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विगत १० दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या देखिएको छ ।  

ठूला तथा मालवाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ । तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारीका लागि कठिनाइ हुने अवस्था रहेको उनले बताइन ।  

प्रकाशित: २७ आश्विन २०८२ २२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App