४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदाता सूचीबाट हटायो १४ सय ३० मृतकको नामावली

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले एक हजार ४ सय ३० जना मृतक मतदाताको नामावली मतदाता सूचीबाट हटाएको छ। यसमध्ये १ हजार २ सय २३ जनाको अहिले हटाइएको हो भने २०७९ सालको निर्वाचनपछि २ सय ७ जनाको नामावली हटाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज (विपिन) दुलालले जानकारी दिए।

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार १ सय ७४ जनाको दोहोरो नामावली समेत मतदाता सूचीबाट हटाइएको छ। एकै व्यक्तिको दुईवटा मतदाता नामावली मतदाता सूचीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार २७ जना मतदाताले मतदाता नामावलीमा रहेको विवरणको त्रुटी सच्याएका छन्। अन्तर जिल्ला मतदाता नामावली सम्बन्धी विषयको अद्यावधिक कार्य निर्वाचन आयोग आफैँले गर्ने भएकोले त्यसपछि मात्र मतदाता नामावलीको यकिन तथ्याङ्क आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मृतक मतदाता नामावली हटाउने, त्रुटी सच्याउने, दोहोरो नामावली हटाउनेसहितका अद्यावधिक कार्य अघि प्रारम्भिक मतदाता नामावली प्रकाशित हुँदा ताप्लेजुङको कुल मतदाता ९१ हजार ८ सय ४० रहेको थियो।

आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन लक्षित मतदाता नामावलीका क्रममा १ हजार २ सय २३ जना मृतकहरूको र १ सय ७४ जनाको दोहोरो नामावली मतदाता नामावली सूचीबाट हटाउँदा ताप्लेजुङको अनुमानित मतदाता संख्या ९० हजार ४ सय ४३ हुन आउँछ। अन्तर जिल्ला सरुवाका लागि आवेदन दिएकाहरूको निर्णय आयोगले आफैँ घटाउने तथा थप अद्यावधिक गर्ने भएकाले ताप्लेजुङको अनुमानित मतदाता संख्या ९० हजार ४ सय ४३ भन्दा कम हुने सम्भावना देखिएको छ।

२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यहाँ ८८ हजार २ सय ८५ मतदाता कायम भएका थिए।

प्रकाशित: ८ पुस २०८२ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App