२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रणका लागि ताप्लेजुङमा छलफल

ग्रीनहुड नेपालले संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रणमा सरोकारवालासंग सहकार्यको प्रस्ताव गरेको छ । 

मंगलबार फुङलिङमा आयोजना गरेको कार्यक्रममा ग्रीनहुड नेपालका अनुसन्धान तथा कार्यक्रम संयोजक रेशु बस्यालले सरोकारवालासंगको सहकार्यमा संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रण सम्भव हुने बताईन् । उनले संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रण साझा प्रयासबाट मात्र सम्भव हुने भएकोले यसका सरोकारवालासंग आफुहरु सहकार्य गर्न तयार रहेको जानकारी दिईन् । 

ग्रीनहुड नेपालले पछिल्ला समय संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रणका कार्यमा साझेदार निकायसंग मिलेर काम गर्दै आएको बस्यालले जानकारी दिइन् । सालक संरक्षणका लागि चितवनको मादीमा क्यामरा ट्रयापिङ सहितका कार्य हुँदै आएको उनले बताईन् ।

कार्यक्रममा संकटापन्न प्रजाति सालकदेखि सुनाखरी र पाँचऔंले सम्मको अवैध ओसारपसार र कारोवारका विषयले प्रवेश पाएको थियो । ग्रीनहुडमा आवद्ध रहेर अनुसन्धानात्मक कार्यमा संलग्न सोफिया केसीका अनुसार ग्रीनहुडको अध्ययनबाट नेपाल सालक र सालकको खपेटाका लागि स्रोत केन्द्र मात्र नभई अवैधानिक व्यापारिक केन्द्रको रुपमा रहेको हुनसक्ने देखिएको छ । केसीले सालकको पछिल्लो १० वर्षको अवस्थाका बारेमा चित्रण समेत गरेकी थिईन् ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले अति संकटापन्न, संकटापन्न, लोपोन्मुख र दुर्लभ वन्यजन्तु तथा वनस्पति प्रजातिको संरक्षणका लागि स्थानीय समुदाय, सरकारी निकाय र गैह्र सरकारी निकायबिच उचित तालमेल र तादम्यता जरुरी हुने बताए ।  

जिल्ला प्रहरी प्रमुख(डिएसपी) बेदप्रसाद गौतमले प्रहरीका आफ्ना इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीलाई अति संकटापन्न,संकटापन्न,लोपोन्मुख र दुर्लभ वन्यजन्तु तथा वनस्पति प्रजातिहरु,यसको अवैध व्यपारबाट हुने नोक्सानी र कानुनी दाहेराबारे थप अनुशिक्षण आवश्यक रहेको बताए । 

डिभिजन वन कार्यालयका निमित्त प्रमुख ललितनारायण यादवले डिभिजन वन कार्यालयकोतर्फबाट अनुशिक्षणका कार्यक्रम चालू आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रममा रहेको भन्दै तत्काल यस्तो कार्यक्रम अघि बढाउने जनाए । 

कार्यक्रममा एन्साव नेपालका कार्यक्रम अधिकृत आयुष भट्टराईले दिगो व्यपार र संरक्षणका लागि आफुहरुले ताप्लेजुङमा ११ वटा जडिबुटी प्रजातिको पहिचान गरी प्रारम्भिक अनुसन्धानको कार्य सुरु गरेको जानकारी दिए । 

प्रकाशित: १ पुस २०८२ १८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App