८ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

गरिमा ह’त्या प्रकरण- दुई नाबालकसहित हालसम्म पक्राउ परे ९ जना, को- को हुन् ?

<br>

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ मा तीन वर्षीया बालिकाको बलात्कार तथा हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाबालकसहित ९ जनालाई पक्राउ गरेको छ।

जीतपुरसिमरा-१ भक्तिनगरस्थित एक खाली घरमा गत भदौ २ गते बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि जिल्ला प्रहरी कार्यालय बाराले अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आरोपितहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई बारा जिल्ला अदालतबाट पहिलो पटक ४ दिन र दोस्रो पटक थप ५ दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मिन बहादुर घलेले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जीतपुरसिमरा-१ का २४ वर्षीय प्रोगेश भन्ने पुग्रेश चौधरी, ५० वर्षीय इन्द्रजित चौधरी, २५ वर्षीया पुष्पा चौधरी, २६ वर्षीया ममता चौधरी, ४५ वर्षीय शेख हसमुदिन आलम, ४० वर्षीय टेकबहादुर थापामगर र वडा नम्बर-२ का ३३ वर्षीय नवीन विक रहेका छन्।

यस्तै, घटनामा संलग्न रहेको आरोपमा १६ र १४ वर्षका दुई बालकलाई समेत पक्राउ गरिएको छ। नाबालक भएकाले प्रहरीले उनीहरूको नाम नरबस्ती ‘क’ र छठिमाई ‘क’ राखेको छ।

घटनाको गाम्भीर्यतालाई ध्यानमा राख्दै प्रहरीले अभियुक्तहरूको बयान, घटनास्थलबाट सङ्कलित प्रमाण, उनीहरूबीचको आपसी सम्पर्क तथा घटनामा अन्य व्यक्तिको भूमिकाबारे सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ८ भाद्र २०८३ २१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App