३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
अर्थ

धानखेत मासेर अलैंचीमा रमाउँदै किसान

इलामको सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा अलैंची छोडाउँदै किसान ।<br>

जिल्लाका गाउँमा अलैंची टिप्ने, छोडाउने र सुकाउने सिजन चलिरहेको छ । अलैंची राम्रो फलेपछि किसान उत्साही देखिएका छन् । पछिल्लो वर्ष अलैंचीको उत्पादन र आम्दानी दुवै राम्रो भएपछि किसानमा अलैंची खेतीप्रति जाँगर देखिएको छ ।

कतिपय किसानले धानलगायत अन्य खेतीसमेत मासेर अलैंची विस्तार गरेका छन् । बिरुवा उत्पादन र विक्री गरेरसमेत राम्रो आम्दानी गरिरहेका किसान फलसमेत राम्रो भएको बताउँछन् । सन्दकपुर गाउँपालिका–३, सुलुबुङका किसानले यो वर्ष ३ करोड रुपैयाँभन्दा बढीको अलैंची उत्पादन हुने अनुमान रहेको बताए । यहाँका किसानले धानबाली हुने खेतसमेत मासेर अलैंची विस्तार गरिरहेका छन् ।  

स्थानीय किसान टंककुमार ढकालले किसानलाई अन्य बाली लगाउनभन्दा अलैंचीमा फाइदा देखिएको बताए । ‘धानबालीमा धेरै मेहनत गर्नुपर्छ तर अलैंची रोपेपछि १–२ पटक गोडमेल गर्दा नै हुन्छ,’ उनले भने, ‘गाउँमा धानखेती हुने खेतमा समेत अहिले अलैंची लगाइएको छ ।’ यहाँका किसानलाई अहिले अलैंची टिप्ने, छोडाउने र सुकाउने चटारो छ ।  

किसान ढकालले सन्दकपुर गाउँपालिकाको वडा ३ सुलुबुङ साविक ३ वटा वडामामात्रै यो साल ३ सय मन (प्रतिमन ४० किलो) अलैंची उत्पादन हुने अनुमान गरे । ‘यही गाउँमा मात्रै यो साल ३ सय मन अलैंची उत्पादन हुने अनुमान गरेका छौं, गतवर्षको जस्तो भाउ (प्रतिमन १ लाख हाराहारी) भए ३ करोड रुपैयाँ आम्दानी हुन्छ यो गाउँमा ।’  

माइजोगमाई गाउँपालिका–५, शिरिसेका महेश सापकोटाले यो वर्ष करिब १ करोड रुपैयाँको अलैंची बिरुवा नै विक्री गरेको सुनाए । ‘मैले आफूले उत्पादन गरेको र गाउँबाट किनेर अलैंची बिरुवा बेचें,’ उनले भने, ‘अहिले इलाममात्र होइन, देशका धेरै जिल्लाका किसानले यहाँबाट अलैंचीको बिरुवा लैजानुभएको छ ।’ सापकोटाले यो साल आफ्नो बगानबाट १५ मनजति अलैंची उत्पादन हुने अनुमान गरेका छन् । 

 

देउमाईका किसान समीर लिम्बूले गाउँ–गाउँमा अलैंची रोप्ने किसान धेरै भएको बताए । ‘यो साल गाउँमा धेरैले अलैंची बिरुवा लगाएका छन्,’ उनले भने, ‘अरू बाली मासेर भएपछि अलैंची लगाउने किसान धेरै छन् । इलामका माइजोगमाई, फाकफोकथुम, देउमाई, सन्दकपुर, सूर्योदय, रोङलगायत पालिकामा अलैंची उत्पादन हुनेगरेको छ ।  

आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी मूल्यको अलैंची निर्यात भएको थियो । त्यो वर्ष १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपैयाँको ६३ लाख ८५ हजार ८ सय ७० किलो अलैंची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । अलैंची पूर्वका जिल्लामा बढी मात्रामा उत्पादन हुन्छ ।

भन्सारका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो । आव २०८१/०८२ मा ४२ लाख ९४ हजार ५ सय ५० किलो अलैंची उत्पादन भएको थियो ।

जिल्लागत रूपमा अलैंची निर्यातको यकिन तथ्यांक नभएपनि इलामबाट अढाई अर्ब रुपैयाँको निकासी भएको अनुमान गरिएको छ । इलाम उद्योग वाणिज्य संघ अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)ले जिल्ला–जिल्लाको तथ्यांक छुट्याउन नसकिएपनि अनुमान गर्न सकिने बताए ।

गतवर्ष किसानले अलैंचीको राम्रो मूल्य पाएका थिए । नेपाल अलैंची व्यवसायी संघका अनुसार अहिले अलैंचीको मूल्य पारदर्शी छ । बिर्तामोडको मूल्य मोबाइल एसएमएसमा जसले पनि थाहा पाउने अवस्था छ  । अघिल्लो वर्ष इलाममा औसतमा प्रतिमन (४० किलो) ७० देखि ८० हजार रुपैयाँमा अलैंची विक्री भएकामा आव २०८२/०८३ मा १ लाख ६ हजार रुपैयाँसम्मले विक्री भएको थियो ।

इलाम, पाँचथर, संखुवासभा, ताप्लेजुङ, भोजपुर, तेह्रथुम, धनकुटासहित देशका ५४ जिल्लामा अलैंची खेती हुनेगरेको छ । तर, मुख्य उत्पादन मेची पहाडका जिल्लामै हुन्छ । यी जिल्लामा भार्लाङ, रामसाई, चिवे, गोलसाई, जिर्मलेलगायत जातका अलैंची खेती गर्ने गरिएको छ ।  

प्रकाशित: ३ कार्तिक २०८३ १५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App