२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

देश निर्माणमा डायस्पोराको योगदान महत्त्वपूर्ण, लोकतन्त्रको रक्षामा चनाखो हुनुपर्ने: पूर्व अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेलले नेपाल बनाउने विचार निर्माणका लागि डायस्पोरामा रहेका नेपालीहरूको योगदान महत्त्वपूर्ण रूपमा स्थापित भइसकेको बताएका छन्।

हिमालय खबर ड्यालस र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालसको संयुक्त आयोजनामा अमेरिकाको ड्यालसमा सम्पन्न ‘नेपाल चर्चा, कविता पुस्तक समीक्षा’ कार्यक्रममा बोल्दै पोखरेलले उक्त कुरा बताएका हुन्।

पूर्व अध्यक्ष पोखरेलले सरकारले डायस्पोरामा रहेका नेपालीहरूको क्षमता, अनुभव, पूँजी र अन्तर्राष्ट्रिय सम्बन्धलाई देश निर्माणमा सही ढंगले उपयोग गर्नुपर्ने सुझाए। नेपाललाई हाल राष्ट्र निर्माणको प्रक्रियामा सबैलाई समेटेर अगाडि बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको उनको भनाइ थियो।

विगतको राजनीतिक घटनाक्रमको स्मरण गर्दै पोखरेलले भने, "विगतमा प्रधानमन्त्री स्वयंले नै संसद भंग गरेर अस्थिरता निम्त्याउन खोजेको इतिहास छ र अहिलेका प्रधानमन्त्रीले पनि त्यही प्रवृत्ति जोगाउने वा दोहोर्‍याउने खतरा उत्तिकै छ।"

लोकतन्त्रमाथि विश्वव्यापी रूपमा नै चुनौतीहरू थपिँदै गएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा डायस्पोराका नेपालीहरूले पनि आफ्नो भूमिका प्रखर रूपमा खेल्नुपर्नेमा जोड दिए।

विशिष्ट व्यक्तित्वहरूको उपस्थिति र अन्तर्क्रिया

उक्त कार्यक्रममा नेपालको वर्तमान राजनीतिक तथा सामाजिक सन्दर्भमा केन्द्रित रहेर वरिष्ठ पत्रकारद्वय सुधिर शर्मा र वसन्त बस्नेतबीच प्यानल छलफल (प्यानल डिस्कसन) समेत सञ्चालन गरिएको थियो। छलफलमा नेपालको समसामयिक वस्तुस्थिति र भविष्यको दिशाबारे गम्भीर चर्चा-परिचर्चा गरिएको थियो।

यसैगरी कार्यक्रममा साहित्यकार नारायण श्रेष्ठले एकल कविता वाचन गरेका थिए भने लेखक केशव दाहालको नवीनतम पुस्तक 'अज्ञात' माथि समेत समीक्षात्मक टिप्पणी र चर्चा गरिएको थियो। डायस्पोरामा रहेका नेपालीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम वैचारिक र साहित्यिक दुवै दृष्टिकोणले भव्य रूपमा सम्पन्न भएको आयोजक संस्था हिमालय खबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले जनाएका छन्।

प्रकाशित: १८ जेष्ठ २०८३ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App