१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठ पर्वलाई लक्षित गरी धाप ड्यामको पानी बागमती नदीमा छोड्ने भएको छ ।  

बागमती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले आयोजनाले आजदेखि ड्याममा जम्मा भएको पानी नदीमा छाड्न सुरु गरेको जनाएको छ ।  

उप–आयोजना निर्देशक तथा समितिका सूचना अधिकृत उद्धव नेपालका अनुसार आजदेखि ड्यामको पानी नदीमा छोडिनेछ । ‘धाप ड्यामको पानी पशुपति क्षेत्रसम्म आइपुग्नका लागि करिब १४ घण्टा लाग्छ, त्यसैले आजैदेखि पानी छाड्ने तयारी छ, विशेष दिनमा ड्यामको पानी बागमती नदीमा छाडिँदै आइएको छ’, उनले भने ।  

उनका अनुसार बागमती नदीमा दुई दिनसम्म प्रतिसेकेण्ड चार सय लिटर पानी छोडिनेछ । ‘यसरी पानी छोड्दा बागमती नदीमा घुँडासम्म पानी आउँछ’, नेपालले भने ।  

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले छठको अवसरमा बागमती नदीमा पानी छोड्नका लागि माग नआएकाले नदीको पानीको बहाब बढाउन पानी नछोड्ने बताए ।  

छठ पूजा विशेष गरी तराई क्षेत्रबासीहरुको प्रमुख पर्व हो । यो पर्व सूर्य उपासनासँग सम्बन्धित छ । यस पर्वमा महिलाहरूले सूर्यदेव र छठी माताको आराधना गर्दै आफ्नो परिवारको कल्याण र समृद्धिको कामना गर्छन् ।

प्रकाशित: ९ कार्तिक २०८२ १७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App