१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

पर्यटकको रोजाइमा धिमीचौर: वाह, क्या स्वर्ग छ!

जुम्ला प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। जुम्लाको हरेक कुनाकन्दरामा सुन्दरता छ। हिमाल, विभिन्न पाटन र अग्लो भौगोलिक अवस्थामा प्रकृतिले जुम्लालाई सुन्दर वरदान नै दिएको छ।

प्रकृतिले सुन्दरता थपेको मनोरम क्षेत्र हो। जुम्ला भन्नेबित्तिकै मनमा विकट, गरिबी, रोग, भोक र अशिक्षा आउँछ। भन्ने र बुझाउनेले पनि जुम्ला बाहिर पुगेर त्यस्तै बुझाए तर यथार्थमा त्यो छैन। कोल्टे फेर्दै छ जुम्ला तर यहाँको भूबनोट र प्रचारप्रसारको कमीले मात्र हो। साँच्चिकै जुम्लालाई भूस्वर्ग भन्न पनि सकिन्छ।

जुम्ला पुगेर अध्ययन गरेकाहरू भन्छन्:  ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण जुम्लाको सुन्दरता चिनाउन सके सिंगो कर्णालीलाई पाल्ने सामर्थ्य छ।

जुम्लामा पर्यटनको प्रचुर सम्भावना भएका दर्जनौं स्थान छन् तर अधिकांश ओझेलमा। यसको विकाससँगै प्रचारप्रसार हुन सकेको छैन। सरकारी उदासीनता र भौगोलिक जटिलताले हो।

जुम्लाका सम्भावनाहरू सधैं ओझेलमा परेका छन्। त्यसैले सुनलाई सिरानी हालेर नुनको खोजीमा हिँडिरहेको कर्णाली सधैं रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ। त्योमध्येको एक हो, जुम्लाको चन्दननाथ नगरपालिका -३ मा रहेको धिमीचौर पाटन।

केही समययता दिनहुँ आन्तरिक तथा बाहृय पर्यटकको नयाँ गन्तव्य बनिरहेको छ। पाटनभरि फुलेका फूलहरूको सुगन्ध लिनेदेखि मनोरम दृश्यले भरपूर यो ठाउँले पर्यटक लाेभ्याउँछ।

सदरमुकाम खलंगादेखि झण्डै एक घण्टाको पैदल र सवारीसाधन २५ मिनेटको यात्रामा पर्ने धिमीचौरमा अहिले निकै चहलपहल छ। धिमीचौरमा एकपटक सोच्न बाध्य बनाउँछ। वाह, क्या स्वर्ग छ! वारिपट्टि विशाल चेरेचौर, बीचमा कलकल बगिरहने घुघुत्ती खोला, नजिकै कर्णाली प्राविधिक शिक्षालय, घना जंगलको बीचैमा ठूलो फाँट, त्यही फाँट हो धिमिचौर।

आजभोलि त धिमीचौरको अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटक निकै बाक्लो देखिन्छ। सयौं बढी पुग्छन्। कतिपय दिउँसो घुमफिर गरेर साँझपख खलंगा बजार र्झछन् त केही पाल थापेर धिमिचौरमै राति रमाइलो गरेर बस्छन्। सयौं थरिका फूल, दर्जनभन्दा बढी जडीबुटी, खर्सु लगायतका थरिथरि प्रजातिका रूखहरू, धिमीचौरमा बस्दा लाग्छ, यो बेग्लै संसार हो। अझै साउन र भदौमा धिमीचौर पर्यटकले भरिभराउ हुन्छ। शुक्रबार र शनिबार झन् भिडभाड हुन्छ।

विद्यार्थी, शिक्षकशिक्षिका, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी बढी जान्छन्। धिमीचौरको बीचमा भैंसीगोठ र भेडीखर्कहरू छन्। घोडा, भेडा, भैंसी र भेडाबाख्राहरूको बथानले पनि फाँटको शोभा बढाएको पाइन्छ। रङ्गीचङ्गी फूलहरूले झन् सुगन्ध दिने नै भैगो।

उक्त दृश्यले झन् मन लोभ्याउँछ। गोठालाहरूले खर्कमा काठको परम्परागत ठेकीमा बनाइको दूध, दही र नउनी (कुराउनी) को स्वाद झन् सम्झनायोग्य हुन्छ। स्थानीय सरकारले चासो दिने हो भने चिसो हावापानी, फूलहरूको सुगन्ध र डाँडाकाँडाले घेरिएको धिमीचौर आयआर्जनको बलियो स्रोत बन्ने बताउँछन् नगरपालिकाबासी जयलाल बानियाँ।

सडक जेनतेन पुगिसकेको छ। उनले भने: यसको संरक्षण गर्न जरुरत छ। धिमीचौरको प्राकृति सुन्दरताले खिचिएर त्यहाँ पुग्ने आगन्तुकहरूलाई बासको भने निकै समस्या छ। पर्यटकले खाएर फ्याँकेका सामानहरू डम्पिङ गर्ने ठाउँ छैन। शौच गर्ने व्यवस्था छैन्। चाउचाउ, विस्कुट र पानी बोतलहरू जथाभावी फालिरहेको बताउँछन् अर्का नगरबासी अमरबहादुर थापा यसले गर्दा सुन्दरता कुरूपतासँगै प्रदूषण बढाएको छ।

धेरै वर्ष पहिलेदेखि चन्दननाथ नगरपालिकाले पर्यटकीय पूर्वाधार बनाउने भने पनि सुरूवात नै हुन सकिरहेको छैन। यता चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले धिमीचौरलाई प्रमुख पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीतिमा समेटिएको बताउँछन्।

अहिले जुम्ला खलंगादेखि रारा जाने र राराताल गएर फर्किने पर्यटकहरू पनि एकपटक धिमीचौर पुगेर फर्किन छन्। धिमीचौर पुग्नेहरूले बनाए र भिडियो, टिकटक तथा रिलहरूले धिमीचौरलाई प्रचारप्रसारमा चिनाउन थप सहयोग पुगेको छ। उकालो लाग्दा र ओरालो झर्दा पर्यटकहरू र भैंसी तथा बाख्रा हेर्नेहरूले गाउने देउडा भाकाले कानलाई पनि उत्तिकै आनन्द दिन्छ।  

प्रकाशित: २६ असार २०८२ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App