१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

देवघाटलाई प्लास्टिकमुक्त बनाइँदै

पवित्र तिर्थस्थल देवघाटधाम क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ। देवघाट क्षेत्र विकास समितिले यही पुस ११ गते विशेष कार्यक्रमका बिच प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागेको आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो।

घोषणा पश्चात देवघाटधाम क्षेत्रभित्र एकपटक प्रयोग हुने प्लास्टिक झोला बोतल, गिलास, प्लेट तथा अन्य प्लास्टिकजन्य सामग्रीको प्रयोगमा क्रमशः निषेध गरिने देवघाट क्षेत्रविकास समितिका अध्यक्ष डा.ईश्वरीराज लौडारीले जानकारी दिए। उनका अनुसार प्लास्टिक निषेधित क्षेत्र बनाउनका लागि स्थानीय सरकार, धार्मिक संघसंस्था तथा वातावरणसँग काम गर्दै आएका विभिन्न संघसंस्थासँग मिलेर अभियान सञ्चालन गरिएको उनले बताए।

अहिले देवघाट क्षेत्रमा फोहोर व्यवस्थापनका लागि ३७ वटा मेटल विन समेत राखिएको छ। यसबाट देवघाटधामलाई स्वच्छ, पवित्र, हराभरा धार्मिक पर्यटकी गन्तव्यका गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको उनले बताए। उनले नारायणी नदीको सभ्यता, देवघाटधामको पवित्रता, सौन्दर्य र वातावरणीय सन्तुलन जोगाउन सबै श्रद्धालु, व्यापारी तथा आगन्तुकहरूलाई प्लाष्टिक प्रयोग नगर्न आह्वान गरे।

त्रिशूली, कालीगण्डकी र नारायणी नदीको संगमस्थल देवघाटधामलाई हिन्दू शास्त्रमा विशेष पुण्यभूमि मानिन्छ। यहाँ स्नान, दान, पूजा–पाठ र अन्त्येष्टि गरेमा मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ। देशका विभिन्न भाग तथा भारतलगायत बाह्य मुलुकबाट समेत हजारौँ तिर्थालु देवघाटधाममा दर्शन तथा स्नानका लागि आउने गर्छन्। देवघाट क्षेत्रको शव दाह गृहमा फोहोर व्यवस्थापनको चुनौती छ। त्यस्तै तिर्थ गर्न आउने भक्तजनले प्लास्टिक ल्याएर आउने भएकाले फोहोर बढी हुने गरेको केही समय अगाडि गरेको एक अध्ययनले देखाएको छ। शवदाह गृह वरपर मेटल सँगै लत्ताकपडा र प्लास्किटका बोतलहरू बढी हुने गरेका छन्।

यस अभियानमा स्थानीय तह भरतपुर महानगरपालिका, गैडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको नीतिगत तथा कार्यगत समन्वय तथा सहकार्य रहेको उनले जानकारी दिए। डब्लु डब्लु एफ नेपाल, सहमति संस्था, नदी सँगै हामी अभियानमा संघसंस्थाहरू धार्मिक संघसंस्था, सामाजिक अभियान्ता, नागरिक समाज, टोल विकास संस्था, आमा समूह, मठ मन्दिर, विद्यालयले सहकार्य गरेको उनले बताए।

प्रकाशित: ९ पुस २०८२ १८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App