खोटाङ प्रशासनले तिहारमा राति दश बजेपछि देउसी भैली खेल्न बन्देज लगाएको छ। जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै चाडपर्वलाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन राति १० बजेसम्म मात्र देउसी भैली खेल्न अनुमति दिएको हो।
दिपावली, नेपाल सम्वत् तथा छठ पर्वलाई सुरक्षित, मर्यादित, व्यवस्थित र सभ्यरूपमा मनाउन अनावश्यक होहल्ला नगर्न प्रशासनले आग्रह गरेको छ।
चाडपर्वको समयमा सामाजिक सद्भाव, भ्रातृत्व र शान्ति सुव्यवस्था कायम राख्न प्रहरी प्रशासनको दायित्व भएको र त्यो दायित्व बहन गर्न जिल्लाबासी नागरिकको सहयोग चाहिने प्रशासनको सुझाव छ। सामाजिक परम्परा र संस्कार पछ्याउँदै देउसी भैलो, नाचगानजस्ता साँस्कृतिक कार्यक्रमहरु गर्न राति १० बजेसम्मको समय सीमा तोकिएको प्रशासनले जनाएको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईद्वारा जारी सूचना अनुसार जुवातास, सठ्ठेबाजी, भिडभाड, आतिशबाजी र मादक पदार्थ सेवन गरी होहल्ला तथा अशान्ति सिर्जना नगर्न आग्रह गरिएको छ। प्रशासनको आग्रह उल्लङ्घन गरे प्रचलित कानुन अनुसार सजायको भागीदार बन्नुपर्ने कुरा पनि सूचनामा सचेत गराइएको छ।
प्रशासनले चाडपर्व मर्यादित र शानितपूर्वक मनाउने वातावरण बनाउन विष्फोटक पदार्थ तथा निषेधित वस्तुको ओसारपसार तथा प्रयोग नगर्न पनि आग्रह गरेको छ। चाडपर्वका बेला कसैले शङ्कास्पद गतिविधि गरेमा वा अपराधजन्य कार्य भए÷गरेको भेटिए, देखिए तत्काल प्रहरीको टोल फ्री नम्बर १०० मा कल गर्न वा मोबाइल ९८५२८४१३२३ मा सम्पर्क गर्न पनि प्रशासनले आग्रह गरेको छ।
प्रकाशित: ३१ आश्विन २०८२ २०:०१ शुक्रबार





