९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

बर्सातले खानेपानी प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन गरिँदै

फाइल तस्बिर

खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण देशभरका खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन प्रक्रिया सुरु गरेको छ।

देशका सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन विभाग अन्तर्गतका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई परिपत्र गरिएको विभागले जनाएको छ।

विभागअन्तर्गत हाल देशभर १५ वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका र ती कार्यालयले खानेपानी तथा सरसफाइ क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन गरी विभागमा पठाउन परिपत्र गरिएको महानिर्देशक ई कमलराज श्रेष्ठले जानकारी दिए।

उनले भने, 'बाढीपहिराले गरेको क्षतिको विवरण पठाउन हामीले सम्बन्धित कार्यालयलाई परिपत्र गरिसकेका छौँ। खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पनि आ–आफ्नो आयोजनाअन्तर्गत भएको क्षतिको विवरण सम्बन्धित कार्यालयमा पठाउन आग्रह गरेका छौँ।'

महानिर्देशक ई श्रेष्ठले सङ्कलन गरिएका विवरणलाई आधार बनाई तत्कालीन राहत तथा दीर्घकालीन पुनःस्थापनाको योजना बनाइने बताए। विशेष गरी इलाम र तराईमा बाढीपहिरोले खानेपानीमा क्षति पुर्‍याएको भन्दै उनले विवरण सङ्कलन भएपश्चात् प्रभावित क्षेत्रको पहिचान, क्षतिको प्रकार, अनुमानित लागत तथा पुनःस्थापनाको प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने धारणा राखे।  

यही असोज १८ र १९ गतेको अविरल वर्षाले पहाडी र भिरालो भू–भागमा रहेका धेरै खानेपानी स्रोत तथा वितरण प्रणालीमा गम्भीर असर पुर्‍याउनाका साथै पाइपलाइन बगाएका, इन्टेक संरचनामा क्षति, जलाशय ट्याङ्की माटो–ढुङ्गाले पुरेको, मोटर पम्प डुबानमा परेको, सरसफाइ उपकरणहरू क्षतिग्रस्तलगायत समस्या देखापरेका विभागले जनाएको छ।

गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षा र बाढीपहिरोबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा रु चार अर्बभन्दा बढीको क्षति भएको खानेपानी मन्त्रालयले जनाएको थियो। रासस

प्रकाशित: २३ आश्विन २०८२ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App