२७ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

बाढीमा ९ जना साथी गुमाए पनि हरेस खाएका छैनौँ, उद्धारमा खटिरहेका छौँ : सशस्त्र प्रहरी हवल्दार लामा

रसुवाको टिमुरेमा भदौ १० गते आएको बाढीमा सहकर्मी गुमाएका सशस्त्र प्रहरी हवल्दार सन्तबहादुर लामाले विपद्का कारण आफूले काम गरिरहेको ठाउँ नै चिनिन नसक्ने अवस्थामा पुगेको बताएका छन्। 

बाढीपछि उद्धार तथा पुनःस्थापनाका काममा खटिएका लामाले टिमुरेमा अहिले बस्तीको संरचना नै नरहेको र आफूले विगतमा देखेको ठाउँभन्दा अहिलेको अवस्था बिल्कुलै फरक भएको बताए। 

‘पहिलाको हेरी त अहिले बस्ती नहुँदा एउटा छुट्टै संसार छ। अहिले संसार नै बदलियो,’ उनले भने, ‘पहिले बस्ती बसेको ठाउँमा अहिले घरहरू छैनन्, संरचनाहरू केही छैनन्। बगरै भएको छ। आश्चर्यजनक र अचम्म लाग्छ।’ 

बाढीले सडक तथा आवतजावतको संरचना पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि सशस्त्र प्रहरीले टिमुरेमा वैकल्पिक आवतजावतका लागि अस्थायी ट्युन निर्माण गरिरहेको लामाले बताए। उनका अनुसार आमाछोदिङ्मो गाउँपालिका जाने तथा त्यहाँबाट टिमुरे आउने स्थानीयलाई सहज बनाउन ट्युन निर्माण भइरहेको हो। 

ट्युन निर्माणपछि स्याफ्रुबेँसीको माथिल्लो भागका बस्ती, चिलिमे, खुम्चेत, गत्लाङ, गोल्जुङ तथा तातोपानीलगायतका क्षेत्रमा आवतजावत सहज हुने उनले बताए। 

बाढीका क्रममा टिमुरेमा कार्यरत सशस्त्र प्रहरीका नौ जना साथी गुमाएको बताउँदै लामाले आफू पनि त्यस घटनाबाट गहिरो रूपमा प्रभावित भएको बताए। उनका ब्याचका सशस्त्र प्रहरी हवल्दार विष्णु रिजाल सहित ९ जना बाढीमा परेको उनको भनाइ छ।

‘मेरा ब्याजका एकजना विष्णु रिजाल भन्ने हवल्दार साब पनि पर्नुभयो,’ उनले भने, ‘साथी गुमाएको पीडा एकातिर छ, आफ्नो जीवन सुरक्षित राख्नुपर्ने अवस्था अर्कोतिर छ।’ 

सहकर्मी गुमाए पनि सुरक्षाकर्मीको जिम्मेवारीबाट पछि नहटेको लामाले बताए। उद्धारमा खटिएका सुरक्षाकर्मीले हरेस नखाई काम गरिरहेको बताए।  

‘सबै साथी गुमाए पनि हामी हरेस नखाएर अघि बढेका छौँ। सबै साथीहरूले हौसला गरिरहेको ठाउँमा हामी पनि गरौँ भनेर लागिरहेका छौँ,’ उनले भने। बाढीमा परेका साथीहरू अझै भेटिन सक्ने आशामा उद्धार कार्यलाई निरन्तरता दिइरहेको उनले बताए। 

‘साथी त गुमिसक्यो, अझै भेटिन्छ कि भनेर उद्धारमा हामी अझ तत्पर भएर लागिरहेका छौँ,’ लामाले भने। विपद्को समयमा जोखिम मोलेर उद्धारमा खटिन पाउनु सुरक्षाकर्मीका रूपमा आफ्नो जिम्मेवारी र गौरव भएको बताए। बाढीबाट प्रभावित सबैको उद्धारमा योगदान गर्न सके आफूहरूलाई गर्व हुने उनको भनाइ छ। 

‘सबै साथी गुमाए पनि अब हामीले केही गर्नुपर्छ। हामीले सकेसम्म सबैको उद्धार गरेर अघि बढ्न पाए हामीलाई गर्व लाग्छ,’ उनले भने ।   

प्रकाशित: २७ भाद्र २०८३ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App