२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

फाइल तस्बिर

जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ। जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा १३ र पाँचखाल नगरपालिकामा १३ जनामा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमित फेला परेका उनले बताए। पाँचखालमा एक, नमोबुद्ध नगरपालिकामा एक र मण्डनदेउपुर नगरपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए।

धुलिखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौँरीदेउराली गाउँपालिकामा हालसम्म डेङ्गु सङ्क्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले जानकारी दिए।

अघिल्लो आर्थिक वर्षमा काभ्रेमा ५९ जनामा सङ्क्रमण पुष्टि भएको थियो। मनसुनको समयमा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले यस वर्ष सङ्क्रमण थप फैलिन नदिन सचेतना र सरसफाइमा सचेतना फैलाइएको सूचना अधिकारी श्रेष्ठले बताए।

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, घर, आँगन तथा वरपर पानी जम्न नदिन र लामो बाहुला भएका कपडा लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ। ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्नेलगायत लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन कार्यालयले अनुरोध गरेको छ।

प्रकाशित: २ आश्विन २०८३ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App