१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङमा मनाइयो प्रजातन्त्र र निर्वाचन दिवस

राष्ट्रिय प्रजातन्त्र दिवस तथा १० औं निर्वाचन दिवसको अवसरमा बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङ प्रवेशद्वार हेलिप्याड भण्डोत्तोलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस आयोजक मूल समारोह समितिको आयोजनामा हेलिप्याडमा रहेको नेपालको राष्ट्रिय झण्डा परिर्वतन गरी झण्डोत्तोलन गरिएको हो। संविधान दिवसको अवसरमा हेलिप्याडमा राखिएको नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन संगै फेरिएको जिल्ला समन्वय समिति ताप्लेजुङका निमित्त समन्वय अधिकारी युवराज पौडेलले बताए। 

राष्ट्रिय प्रजातन्त्र दिवससंगै निर्वाचन दिवस समेत मनाइएको छ। आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित तवरले सम्पन्न गर्ने कुरामा सबैको सक्रिय सहभागिताको अपेक्षासहित १० औं निर्वाचन दिवस मनाइएको जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले आवधिक निर्वाचन प्रजातन्त्र र लोकतन्त्रको प्राण भएको बताउँदै यस पटक हुन लागेको निर्वाचनलाई सभ्य र भव्य ढंगले सम्पन्न गर्न सबैको रचनात्मक सहयोग र सक्रियताको खाचो औंल्याए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन बलिदान दिने सहिदहरूको सपना साकार पार्न जिम्मेवार निकाय तथा व्यक्तिहरू आफ्नो जिम्मेवारीप्रति इमान्दार र कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिए।

प्रतिनिधि सभाको निर्वाचन आउन केही अवधि मात्र बाँकी रहेको अवस्थामा सबैले निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउने कुरामा सहयोग गर्नुपर्ने प्रजिअ सेढाइँको भनाइ थियो। उनले प्रजातन्त्र जनता मालिक हुने शासन प्रणाली रहेकोमा जोड दिँदै मतदाताले फागुन २१ गतेको निर्वाचनमा अभूतपूर्व सहभागिता जनाएर आफ्नो अभिमत प्रकट गर्नुपर्नेमा सेढाइँले जोड दिए।

कार्यक्रममा दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का, जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतम, सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति (सशस्त्र डिएसपी) प्रमोदप्रकाश पाठक, सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई, कोष नियन्त्रक यमरान गिरी, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतम, पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यसहितको उपस्थिति रहेको थियो।

प्रकाशित: ७ फाल्गुन २०८२ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App