४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

कञ्चनजंघा क्षेत्रका ९ हाइड्रोले स्थानीयलाई एक सय कित्ता शेयर नि:शुल्क दिनुपर्ने माग

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसिएमसी) ले संरक्षण क्षेत्रभित्रका प्रत्येक घरधुरीलाई कम्तिमा एक सय कित्ता प्रमोटर शेयर निःशुल्क रूपमा उपलब्ध गराउन संरक्षण क्षेत्रभित्र सञ्चालित जलविद्युत परियोजनालाई पत्र लेखेको छ। 

परिषद् अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले संरक्षण क्षेत्रभित्रका ९ वटा जलविद्युत परियोजनालाई पत्र लेख्दै संरक्षण क्षेत्रभित्र सहमति उपलब्ध गरिएका जलविद्युत परियोजनाहरूले संरक्षण क्षेत्रभित्रका प्रत्येक घरधुरीलाई कम्तिमा एक सय कित्ता प्रमोटर शेयर उपलब्ध गराउनुपर्ने भनेका छन्। उनले लेखेको पत्रमा शेयर मूल्यवापत जम्मा हुने रकममध्ये ५० प्रतिशत शेयर मूल्य जलविद्युत परियोजनाको सामाजिक उत्तरदायित्वको रकमबाट वहन गर्नुपर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित जलविद्युत परियोजनाले वहन गर्नुपर्ने माग गरिएको छ। 

यसको अर्थ संरक्षण क्षेत्रभित्रका सबै घरधुरीलाई संरक्षण क्षेत्रभित्र सहमति प्राप्त सम्बन्धित जलविद्युत परियोजनाले कम्तिमा एक सय कित्ता प्रमोटर शेयर निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले माग गरेको छ। परिषद्ले स्नो रिभर्स लिमिटेड, हिल्टन हाइड्रो इनर्जी लिमिटेड, रेमिट हाइड्रो लिमिटेड, रिभर्स साइड हाइड्रो इनर्जी लिमिटेड, तमोर इनर्जी प्रालि, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, नेपाल हाइड्रो भेन्चर प्रालि र युनियन हाइड्रोपावर लिमिटेडलाई प्रमोटर शेयर निःशुल्क रूपमा उपलब्ध गराउन पत्र लेखेको छ। 

परिषद्ले स्नो रिभर्स लिमिटेड, हिल्टन हाइड्रो इनर्जी लिमिटेडबाहेक उल्लेखित बाँकी ७ वटा जलविद्युत परियोजनालाई बेग्लै पत्र लेख्दै फक्ताङलुङ गाउँपालिकाको वडा नं. ५ तापेथोक र वडा नं. ६ लेलेप जोड्ने रानीपुलस्थित तमोर नदीमा तत्काल बेलिब्रिज निर्माण गर्न आग्रह समेत गरेको छ। त्यहाँ यसअघि रेमिट हाइड्रोले निर्माण गरेको बेलिब्रिज गत साउन ६ गतेको बाढीले बगाएपछि अहिले फक्ताङलुङ गाउँपालिकाको वडा नं. ५ तापेथोक र वडा नं. ६ लेलेपमा सोझो यातायात आवागमन बन्द भएको छ। 

गत साउन १९ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा रानीपुलमा बेलिब्रिज निर्माण नभइञ्जेलसम्मका लागि तमोर–५ जलविद्युत आयोजनाद्वारा निर्माण भई सञ्चालन उपयुक्त रहेको पुललाई ताम्मावा देखि फेम्बो जोड्ने माध्यम बनाउन करिब अढाई किलोमिटर क्षेत्रमा नयाँ ट्र्याक खोल्ने विषयमा गरिएको आग्रह अस्वीकार गरेर हिँडेका परिषद् अध्यक्ष फेम्बुले सोही ठाउँमा बेलिब्रिज निर्माणको विषय अघि सारेका छन्। 

फेम्बुले अस्वीकार गरे पनि जिल्ला विपद् व्यवस्थापन समितिले ताम्मावा देखि फेम्बो जोड्ने माध्यम बनाउन करिब अढाई किलोमिटर क्षेत्रमा नयाँ ट्र्याक खोल्ने निर्णय गरिसकेको छ। नयाँ ट्र्याक खोल्ने उक्त निर्णयमा कानुनी अड्चन रहेको तथा उक्त क्षेत्र पुरानो बाढी पहिरो गएको क्षेत्र समेत भएकोले जोखिम हुने भन्दै कञ्चनजंघा  संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष फेम्बुले असहमति जनाएका थिए।

प्रकाशित: ४ भाद्र २०८२ १७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App