१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दीर्घकालीन भरणपोषणको व्यवस्था गर्न माग

प्रहरी प्रशासनको दबाबको प्रतिरोधका क्रममा आत्मदाह गरेका राइड सेयरिङ श्रमिक गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। उनको निधनप्रति विभिन्न राइडर तथा गिग श्रमिक संगठनहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

राइडर्स युनियन नेपाल, नेपाल प्लेटफर्म वर्कर्स युनियन लगायतका संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। विज्ञप्तिमा गणेश नेपालीको निधनले गिग तथा प्लेटफर्ममा आधारित यातायात र सेवा क्षेत्रमा कार्यरत श्रमिक समुदाय स्तब्ध बनेको उल्लेख गरिएको छ।

संगठनहरूले विगतदेखि उठाउँदै आएका श्रमिक अधिकारसम्बन्धी मागलाई झनै सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सरकार तथा सम्बन्धित रोजगारदातासँग मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र आश्रित परिवारको दीर्घकालीन भरणपोषणको व्यवस्था गर्न माग गरेका छन्।

यसैबीच, नेपालका गिग तथा प्लेटफर्ममा आधारित श्रमिकहरूले विभिन्न मागसहित सरकारसमक्ष ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा पछिल्लो दशकमा गिग तथा प्लेटफर्म अर्थतन्त्र तीव्र रूपमा विस्तार भए पनि यस क्षेत्रमा कार्यरत लाखौं श्रमिक श्रम अधिकार, सामाजिक सुरक्षा तथा सुरक्षित कार्य वातावरणबाट अझै वञ्चित रहेको उल्लेख गरिएको छ।

श्रमिकहरूले प्लेटफर्म कामदारलाई श्रम ऐनअनुसार संगठित हुने तथा सामूहिक सौदाबाजी गर्ने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। साथै, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले पारित गरेको प्लेटफर्म अर्थतन्त्रसम्बन्धी मर्यादित काम सम्बन्धी मापदण्ड अनुमोदन गर्न तथा सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै गिग तथा प्लेटफर्म श्रमिकको अधिकार संरक्षण गर्ने कानुन तत्काल निर्माण गर्न आग्रह गरेका छन्।

ज्ञापनपत्रमा श्रमिक, रोजगारदाता र सरकारका प्रतिनिधि सम्मिलित त्रिपक्षीय संवाद समिति गठन गर्न, राइड सेयरिङसम्बन्धी विवाद समाधानका लागि श्रम अदालतमार्फत निःशुल्क र द्रुत न्यायिक सेवा उपलब्ध गराउन पनि माग गरिएको छ।

त्यसैगरी, इन्धनको मूल्यवृद्धि, पूर्वाधार सञ्चालन खर्च तथा जीवनयापनको बढ्दो लागतलाई आधार मानेर राइड सेयरिङ सेवाको भाडादर पुनःसमायोजन गर्नुपर्ने मागसमेत श्रमिकहरूले अघि सारेका छन्।

प्रकाशित: २६ असार २०८३ १७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App