१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

नौरथामा बढ्यो केराको माग

दसैंको चहलपहलसँगै केराको माग बढेको छ। घटस्थापनादेखि नौ दिनसम्म नौरथाको व्रत बस्ने र पूजाआजा गर्नेहरू बढी हुने हुँदा केराको माग दोब्बर भएको हो। सदरमुकाम तौलिहवामा फलफूल बेच्ने थोक व्यवसायी केराको माग बढेपछि उत्साहित छन्। उनीहरूलाई अहिले अन्य फलफूलभन्दा केरा बेच्ने चटारो छ।

माग बढेपछि उनीहरूले त्रिवेणीबाट केरा किनेर ल्याउने गरेका छन्। पहिले दैनिक २० क्विन्टल आसपास केरा बिक्री हुन्थ्यो भने अहिले दैनिक सय क्युन्टल बढी बिक्री भइरहेको तौलिहवाको हाटबजारस्थित मुस्कान फुट सेन्टरका मालिक सनिउल्लाह कुजाडाले बताए। पहिले सातामा तीन पटक डिसिएममा केरा आउँथ्यो भने अहिले दैनिक पाँच डिसिएम केरा लागिएको छ। ‘अहिले दैनिक सय क्विन्टल बढी केरा बिक्री हुन्छ’, उनले भने।

माग बढी आइरहेकाले अझै बढ्लाजस्तो छ, जति बढे पनि पुर्‍याउने किसिमले प्रबन्ध मिलाएको उनले बताए। एक डिसिएममा २० क्विन्टल केरा ल्याउने गरिएको छ। इर्फान फलफूल भण्डारका रइस मन्सुरीको पनि केरा बिक्रीमा भ्याइनभ्याइ छ। उनले दैनिक २० देखि ४० क्विन्टलसम्म केरा बिक्री गरिरहेका छन्। पहिले उनले दैनिक पाँच क्विन्टल केरा बिक्री गर्दै आएकोमा दसैं लागेपछि बिक्री बढेको उनले बताए। उनले पनि त्रिवेणीबाट केरा ल्याई यहाँ बिक्री वितरण गर्दै आएका छन्।

गत वर्षभन्दा यस वर्ष भने बिक्रीमा कमी आएको उनले बताए। ‘आर्थिक मन्दीले बजारमा चहलपहलसमेत कम छ। विगतका दसैंमा जस्तो केरा बिक्री भएको छैन’, उनले भने। सदरमुकाम तौलिहवामा मात्र ६ जना फलफूलका थोक व्यापारीले केरा बिक्री गर्दै आएका छन्। प्रतिकिलो २८ देखि ३० रुपैयाँमा केरा बिक्री हुने गरेको उनीहरू बताउँछन्। यहाँ बासुडी, भुसाबल र नौगडिया जातका केरा बिक्री वितरण हुँदै आएको छ। घटस्थापनाका बेला धेरैजना व्रत बस्ने र पूजाआजा गर्ने हुनाले शुद्ध मानिने फलका रूपमा रहेको केरा बढी प्रयोग हुने व्रतालु बताउँछन्। पूजाआजामा भगवान्लाई फलका रूपमा केरा नै चढाइने हुँदा पनि केराको माग बढेको हो।

भारतबाट केरा ल्याउन रोक लगाइएपछि कपिलवस्तुका फलफूल व्यापारीले नवलपरासीको त्रिवेणीबाट केरा ल्याउने गरेका छन्। त्रिवेणी रानीनगर, गुढीपेरमौनी, खुढिया, चिनी मिल, मर्चहवा नरसिहीलगायतका स्थानबाट केरा ल्याउने गरिएको छ। आफूहरूले २५ रुपैयाँ प्रतिकिलोमा केरा किनेर ल्याउने गरेको व्यापारी बताउँछन्।

प्रकाशित: ८ आश्विन २०८२ १०:५६ बुधबार