बिहानको उज्यालो नफुट्दै जुम्लाको खलंगा बजार बिस्तारै चलायमान हुन थाल्छ। यही समयमा ४६ वर्षीय देबबहादुर थापा थर्मस हातमा बोकेर गल्ली–गल्ली हिँड्न सुरु गरिसकेका हुन्छन्। उनको दिन चिया उमालेर सुरु हुन्छ र साँझ ६ बजेसम्म भीड खोज्दै बजार डुल्दा टुंगिन्छ।
बसपार्क, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, विमानस्थल, जिल्ला प्रशासन कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालयदेखि व्यापारीका पसलसम्म-जहाँ मानिस छन्, थापा त्यहीँ पुग्छन्। चिसो मौसममा तातो लेबेन्टी चियाको बाफसँगै उनको संघर्ष, भरोसा र आत्मसम्मान मिसिएको हुन्छ।
सामान्य लेखपढ मात्र गर्न सक्ने थापाले काम सानो–ठूलो हुँदैन भन्ने कुरा व्यवहारबाटै प्रमाणित गरिरहेका छन्। ‘दिनभरिमा न्यूनतम सय कपदेखि दुई सय ९० कपसम्म चिया बिक्री हुन्छ,’ उनी भन्छन्, ‘दैनिक करिब दुई हजार रुपैयाँ आम्दानी हुन्छ। सबै खर्च कटाएर झन्डै एक हजार रुपैयाँ बचत हुन्छ।’ यही बचतले उनको घर चलेको छ, छोराछोरीको पढाइ चलेको छ।
थापाले जुम्लामा चिया बेच्न थालेको एक महिना मात्रै भएको छ। तर अनुभव नयाँ होइन। यसअघि भारतका विभिन्न सहरमा उनले पाँचदेखि सात वर्षसम्म चिया बेचे। वैदेशिक रोजगारीका क्रममा साढे तीन वर्ष मलेसियामा सुरक्षा गार्डका रूपमा पनि काम गरे। कोरोना महामारीअघि घर फर्किएपछि भने विदेश जाने सोच नै हटेको उनी बताउँछन्।
‘परदेशमा दुःख त यहीँ जस्तै हो,’ उनी भन्छन्, ‘फरक यत्ति हो-यहाँ आफ्नै माटो छ, आफ्नै मान्छे छन्।’
आफ्नै देशमा सानो लगानीबाट सुरु गरिएको व्यवसाय अहिले थापाको जीवनको आधार बनेको छ। चिनी, कालो नुन, मरिच र कागती मिसाएर बनाइएको लेबेन्टी चिया प्रति गिलास २० रुपैयाँमा बिक्री हुन्छ। थर्मसभित्रको चियासँगै आत्मनिर्भर बन्ने सपना बोकेर उनी बजार डुलिरहेका हुन्छन्।
थापाको घर तनहुँ जिल्लाको धरमपानीमा पर्छ। उनकी श्रीमती घरमै खेतीपाती गर्छिन्। दुई छोरी र एक छोरा गृहजिल्लामै निजी विद्यालयमा अध्ययनरत छन्। ‘श्रीमती र मैले मिलेर घरखर्च, लुगाफाटा र बालबालिकाको पढाइ सबै धानिरहेका छौँ,’ उनी भन्छन्।
जुम्लाको चिसो मौसमले हाल उनको व्यापारलाई थप टेवा दिएको छ। ‘चिसोमा तातो चिया सस्तोमा पाइन्छ भनेर मान्छे आफैँ बोलाउँछन्,’ उनी हाँस्दै भन्छन्। एक महिनामै करिब ३५ हजार रुपैयाँ बचत गर्न सफल भएका थापा तातो सिजन सुरु भएपछि फेरि घर फर्किने सोचमा छन्।
धेरैको ठूलो व्यवसाय गर्ने सपना हुन्छ। तर ठूलो लगानी र घाटाको जोखिम सबैले धान्न सक्दैनन्। थापा भने फरक बाटो रोज्छन्। ‘सानो लगानीमा पनि फरक सोच्न सकियो भने राम्रै आम्दानी सम्भव छ,’ उनी भन्छन्, ‘मानिसलाई समय र परिस्थितिले जे पनि गराउँछ।’
मान्छे समय र परिस्थितिको नोकर हो। जुम्ला सदरमुकाम खलंगा बजारका गल्ली–गल्लीमा थर्मस बोकेर हिँड्ने देबबहादुर थापा आज केवल चिया मात्र बेचिरहेका छैनन्। उनी स्वदेशमै श्रम गरेर बाँच्न सकिन्छ भन्ने आत्मविश्वास पनि बेचिरहेका छन्-एक गिलास तातो चियासँगै।
तनहुँका देबबहादुर जुम्लामा डुलेर चिया बेच्दै।
प्रकाशित: १७ पुस २०८२ १५:४२ बिहीबार





