१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने डिलरलाई ५० हजार जरिवाना

पोखरामा एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको आरोपमा एक ग्यास डिलरलाई जरिवाना गरिएको छ।

जिल्ला प्रशासनसहितको संयुक्त अनुगमन टोलीले छड्के जाँच गर्ने क्रममा भण्डारी ट्रेडर्स लाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार उक्त डिलरले एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्नुका साथै सिलिन्डरबाट ग्यास सारिरहेको अवस्थामा रंगेहात फेला परेको थियो।

अनुगमनका क्रममा भण्डारी ट्रेडर्समा १४.२ केजी तौलका ४८ थान ग्यास सिलिन्डर लुकाएर राखिएको पाइएको थियो। साथै एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्ने क्रममा तीन थान उपकरणसहित भेटिएको प्रशासनले जनाएको छ।

प्रशासनले उक्त डिलरमा फेला परेका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डर उपभोक्तालाई पहिले आउनेलाई पहिले सेवा (फर्स्ट कम, फर्स्ट सर्भ)को आधारमा बिक्री वितरण गर्न निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित टोलीले पोखराका विभिन्न ५ वटा ग्यास डिलरमा छड्के अनुगमन गरेको थियो।

अनुगमनका क्रममा ३ वटा डिलरमा ग्यासको मौज्दात र भण्डारण सामान्य अवस्थामा भेटिएको प्रशासनले जनाएको छ। अर्को एक डिलरमा भने ७.१ केजीका ३२४ थान ग्यास सिलिन्डर गाडीबाट झार्दै गरेको अवस्थामा टोलीले फेला पारेको थियो।

कास्की प्रशासनले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र कालोबजारी रोक्न आगामी दिनमा पनि अनुगमनलाई थप तीव्रता दिने जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०८२ २१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App