विजयादशमीको अवसरमा जिल्लाका १० वटै पालिकामा ४९६ दुर्गा भगवतीको मूर्ति प्रदर्शनका लागि निकालिएको छ। दुर्गा भगवती माताले दानव शम्भु र निशुम्भको वध गरेको प्रतीक स्वरूपका यी मूर्ति गाउँ र सहरका प्रमुख चोकमा राखिएका छन्।
सांस्कृतिक विज्ञ पशुपतिमणि त्रिपाठीका अनुसार, नौरथाको पहिलो दिन अर्थात् घटस्थापना र सप्तमीका दिन विशेष पूजा(पाठ गरी मूर्ति प्रदर्शनका लागि निकालिन्छ। प्रदर्शन पछि जिल्लाको गाउँदेखि सहरसम्म दसैँको चहलपहल बढेको छ।
तौलिहवाको चोक बजारमा बागेश्वरी युवा ग्रुपले एक लाख मूल्यको १४ फिट अग्लो मूर्ति प्रदर्शनमा राखेको छ। ग्रुपका अध्यक्ष अनुप गुप्ताले मूर्ति भारतको गोरखपुरबाट ल्याइएको बताए। विशेषगरी दिउँसोभन्दा रातीको समय जिल्लामा मूर्ति दर्शन र पूजा गर्ने चलन रहेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी ७९ मूर्ति कृष्णनगर नगरपालिकामा, ६८ मूर्ति शुद्धोदन र मायादेवी गाउँपालिका, ४७ बाणगंगा नगरपालिकामा, ५७ बुद्धभुमी नगरपालिकामा, ६४ शिवराज र महाराजगंज, ६३ बिजयनगर, ६७ कपिलवस्तु नगरपालिका र ५१ यशोधरा गाउँपालिकामा निकालिएका छन्।
दसैँको समयमा मूर्ति हेर्न भिडभाड हुने र घटना हुन सक्ने भएकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ। कृष्णनगर र महाराजगंजलाई अति संवेदनशील क्षेत्रको सूचीमा राखेर त्यही अनुसार सुरक्षा रणनीति बनाइएको छ।
पछिल्ला वर्षमा मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा साम्प्रदायिक घटना भएकाले नगरपालिकाका मेयर रजत प्रताप शाहको नेतृत्वमा समिति समेत गठन गरिएको छ। चाडबाडका क्रममा हुन सक्ने घटनालाई रोक्न एकीकृत सुरक्षा योजनाअनुसार जिल्लाभर व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
निकालिएका मूर्ति असोज १७ देखि २१ गतेसम्म विसर्जन गरिने छ।
प्रकाशित: १४ आश्विन २०८२ १७:०९ मंगलबार





