कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनाका चालकको शव दुर्घटनाको ९ दिनपछि फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझिगाउँ निवासी चालक तुलाराम सुवेदीको शव शनिबार बिहान करिब ७ बजे अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा फेला परेको हो।
प्रहरीका अनुसार शवको पहिचान उनका बुबाले गरेका छन्। दुर्घटनापछि बेपत्ता भएका उनका भाइ तथा गाडीका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
गत असार १८ गते बिहीबार बिहान करिब ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा दुर्घटनामा परेको थियो। गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर डुबेको थियो।
दुर्घटनाका बेला गाडीमा पाँच जना सवार थिए। कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा उद्धार गरिए पनि दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
त्यसैगरी, सोही गाउँपालिकाका मेगे तिरुवाको शव दुर्घटनापछि गत सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा फेला परेको थियो। कालिकोटको रास्कोट नगरपालिका–२ की १८ वर्षीया सिर्जनाको शव मंगलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–४ को डङ्डगे क्षेत्रमा भेटिएको थियो।
प्रहरीका अनुसार हालसम्म एक जना यात्रु र दुर्घटनाग्रस्त गाडी अझै फेला परेका छैनन्। बेपत्ता यात्रु तथा गाडीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिए पनि अहिलेसम्म सफलता हात लागेको छैन।
प्रकाशित: २७ असार २०८३ १७:२६ शनिबार





