८ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

दसैँअघिदेखि नै सिडिओ-प्रहरी प्रमुखविहीन बनेको दैलेख

वर्षकै प्रमुख चाड दसैंमा शान्ति सुरक्षाको चुनौती बढ्ने भए पनि दैलेखमा प्रशासन र प्रहरी दुवै निकायका प्रमुख अनुपस्थित भएपछि सरकारी जिम्मेवारी र सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ।

प्रमुख जिल्ला अधिकारी सरुवा भएर गएको र नयाँ नियुक्ति नहुँदा प्रशासन निमित्तको भरमा चलेको छ भने जिल्ला प्रहरी प्रमुख पनि बिदामा बसेपछि प्रहरीको नेतृत्व प्रहरी निरीक्षकले सम्हालेका छन्। संवेदनशील समयमा जिल्लाका प्रमुख सुरक्षा अधिकारी नै अनुपस्थित भएपछि आम नागरिकले राज्यको जिम्मेवारीबोधमाथि प्रश्न उठाउँदै दुःख व्यक्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी (सहसचिव) आनन्द सारु सरुवा भएर गएपछि गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छैन्। त्यसपछि निमित्त प्रमुख जिल्ला अधिकारी (उपसचिव) महेन्द्रजंग शाहीले जिल्लाको प्रशासनिक जिम्मेवारी सम्हालिरहेका छन्। यस्तै, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार विक बिदामा बसेपछि प्रहरी निरीक्षक पुष्प रोकायले निमित्तको जिम्मेवारी लिएर जिल्लाको शान्ति सुरक्षासम्बन्धी जिम्मेवारी सम्हालेका छन्।

दसैंजस्तो चाडमा नागरिकको आवतजावत, सार्वजनिक स्थलमा भीडभाड, मदिरा सेवनपछि हुने झैझगडा तथा आपराधिक गतिविधिको जोखिम बढ्ने गर्छ। यस्तो अवस्थामा प्रशासनिक निर्णय, सुरक्षा निकायबीचको समन्वय र आकस्मिक घटनामा तत्काल निर्णय लिन सक्ने नेतृत्व महत्वपूर्ण हुन्छ। तर, यही समयमा दैलेखमा प्रशासन र प्रहरीका प्रमुख अधिकारी अनुपस्थित भएपछि सुरक्षा व्यवस्थापनको तयारी र सरकारी प्राथमिकतामाथि प्रश्न उठेको हो। नागरिक अगुवा विशाल सुनारले अभिषेक अनुरागले वर्ष दिनमा आउने दसैंमा शान्ति सुरक्षाको अग्रपंक्तिमा रहने प्रशासन र सुरक्षा निकायका प्रमुख नै जिल्लामा नहुनु दुःखद भएको बताए। उनका अनुसार नागरिकले चाडपर्वमा सुरक्षित वातावरण र राज्यको उपस्थितिको अपेक्षा गर्छन्। यस्तो संवेदनशील समयमा प्रमुख अधिकारीको अनुपस्थितिले नागरिकमा असुरक्षाको भावना बढाउन सक्छ।

रणनीतिक र भौगोलिक हिसाबले पनि संवेदनशील जिल्ला

दैलेखको सुरक्षा व्यवस्थापनलाई सामान्य प्रशासनिक जिम्मेवारीका रूपमा मात्र हेर्न मिल्दैन। जिल्लामा कर्णाली राजमार्ग, दैलेख–सुर्खेत सडकखण्ड र मध्यपहाडी राजमार्गजस्ता सडक सञ्जाल छन्। यी मार्गमा हुने आवागमन, दुर्घटना, सम्भावित आपराधिक गतिविधि र चाडपर्वमा गाउँ फर्किने यात्रुको चाप व्यवस्थापन गर्नु सुरक्षा निकायका लागि चुनौतीपूर्ण हुन्छ।

त्यस्तै, जिल्लामा कर्णाली जलविद्युत आयोजनासहित विभिन्न साना जलविद्युत् आयोजना सञ्चालनमा छन्। यस्ता पूर्वाधारको सुरक्षा, स्थानीय तहमा शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारी र ग्रामीण क्षेत्रमा प्रहरीको पहुँच व्यवस्थापन गर्न पनि प्रभावकारी नेतृत्व आवश्यक हुन्छ। कर्णाली प्रदेशमा सुर्खेतपछि ठूलो जनसंख्या भएका जिल्लामध्ये दैलेख पनि पर्छ।

सुर्खेतजतिकै दुई निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचान क्षेत्र रहेका दैलेख पालिकामा सुर्खेतभन्दा बढी रहेको छ। जसले कर्णालीमै बढी ११ वटा पालिका रहेका जिल्ला दैलेख रहेको छ। भौगोलिक विकटता र विभिन्न सडक सञ्जालमा हुने गतिविधिका कारण जिल्लाको सुरक्षा व्यवस्थापनमा निरन्तर निगरानी र निकायबीच समन्वय आवश्यक छ। यस्तो अवस्थामा जिल्लाको समग्र शान्तिसुरक्षाको जिम्मेवारी सम्हाल्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख दुवै अनुपस्थित हुनु संयोग मात्र हो वा जिम्मेवारी हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा कमजोरी देखिएको आम नागरिकले औल्याएका छन्।

दसैं अवधिमा दैलेख सदरमुकाममै युवाहरूबीच दोहोरो झडप भएको छ। घटनामा एक जना घाइते भएका छन् भने चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्प रोकायले बताए।

चाडपर्वका बेला जिल्लामा शान्तिसुरक्षा कायम गर्न प्रहरी परिचालन, सम्भावित झैझगडाको पूर्वाअनुमान, संवेदनशील स्थानमा निगरानी र घटनापछि तत्काल अनुसन्धान महत्वपूर्ण हुन्छ। सदरमुकाममै प्रहरी कार्यालय अगाडी प्रहरीकै रोहवरमा झडप हुनुले सुरक्षा सम्वेदनशिलतासँग जोडिएको छ। यस्तो घटनाले चाडपर्वमा सुरक्षा सतर्कता र प्रभावकारी कमान्डको आवश्यकता भने देखाउँछ।

प्रमुख जिल्ला अधिकारीको सरुवा भएपछि नयाँ अधिकारी तत्काल नपठाउनु र चाडपर्वको समयमा प्रहरी प्रमुख बिदामा बस्ने अवस्थाको व्यवस्थापन गर्नु सम्बन्धित सरकारी निकायको जिम्मेवारी हो।

प्रकाशित: ८ कार्तिक २०८३ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App