बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको भन्दै उच्च हिमाली भेगको पदयात्रामा रोक लगाइएको छ।
अन्नपूर्ण क्षेत्रभित्रका विभिन्न पदयात्रा रुटको ३ हजार मिटर माथिको उचाइमा पदयात्रामा जान नपाइने गरी रोक लगाइएको हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले समुन्द्री सतहको ३ हजार मिटरमाथिको उचाइको पदयात्रामा जान नपाउने गरी हालका लागि रोक लगाएको बताएको छ।
एक्याप प्रमुख रबिन कडरियाका अनुसार उच्च हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले बिहीबारदेखि शनिबारसम्म ३ हजार मिटरमाथि जान नपाइनेगरी रोक लगाइएको बताए।
‘अन्नपूर्ण क्षेत्र भित्रैको प्रवेशमा रोक लगाइएको होइन। पदयात्रा परमिट पनि लिन पाइन्छ। तर, ३ हजार मिटर माथि जान पाइँदैन,’ उनले भने, ‘तीन हजार मिटरसम्म पुगेर सुरक्षित तरिकाले बस्न सकिन्छ। उच्च भेगमा जाने पाहुना ३ हजार मिटरमा पुगेर मौसम खुल्ने बेलासम्म पर्खिन पाउँछन्।’
बढीमा तीन दिनको पर्खाइपछि पदयात्रा खुल्ने सम्भावना भएकोले पदयात्रामा रहेका पाहुना अत्तालिन नहुने तर, सुरक्षित भएर बस्नुपर्ने उनले बताए।
एक्यापले हाल तीन दिनका लागि उच्च हिमाली भेगको पदयात्रामा रोक लगाएको भए पनि नजिकका क्षेत्रमा आउजाउमा कुनै रोकावट नगरेको उनले बताए।
‘पोखरा नजिकैका पर्यटकीय बस्ती, घान्द्रुक, छोमरोङ, घोरेपानीसम्म जाँदा खासै समस्या छैन । जहाँ गए पनि सुरक्षित भएर बस्नुपर्छ,’ उनले भने।
उनका अनुसार अन्नपूर्ण आधारशिविर (एबिसी), अन्नपूर्ण फेरो, मर्दी हिमाल, अन्नपूर्ण प्रथम आधारशिविर (मौरिस हर्जाेग ट्रेल), उपल्लो मुस्ताङ र ३ हजार मिटरमाथिका पदमार्गमा जानका लागि रोक लगाइएको छ।
‘अहिलेका लागि तीन दिनसम्म पदयात्रा रोकेका छौ। तर, मौसममा अझ बढी चुनौती थपिएमा त्यो अवधि बढ्न पनि सक्छ। मौसममा सुधार आयो भने छिटै पनि खुलाउन सकिन्छ,’ उनले भने।
एक्यापका अनुसार अहिले अन्नपूर्ण क्षेत्रमा मात्र कम्तीमा ५ हजार विदेशी पाहुना छन्। विभिन्न रुटको पदयात्रामा रहेका उनीहरूलाई सुरक्षित स्थानमा रहन एक्यापले अनुरोध पनि गरेको छ।
यो समयमा सबैभन्दा बढी झन्डै १५ सय पाहुना एबिसीमा मात्र रहेको पनि एक्यापका प्रमुख कडरियाको भनाई छ।
‘मौसमी जानकारी लिएर मात्र पदयात्रामा जानुस्, मौसम नसुध्रेसम्म पदयात्रामा ननिस्कनुस्,’ एक्यापले भनेको छ।
एक्यापले विभिन्न रुटमा रहेका चेकपोस्ट मार्फत पाहुनालाई ३ हजार मिटर माथि जानबाट रोक्नेगरी सूचना पनि प्रवाह गरेको छ। यो बेला पर्यटकीय सिजन परेकोले पनि कतिपय पदयात्रा रुटमा विदेशी पदयात्रीको भिडभाड रहेको छ।
विभिन्न जिल्लाले पनि उच्च हिमाली क्षेत्रको पदयात्रामा गएका पाहुनालाई सूचना जारी गर्दै पदयात्रामा सचेत हुन आग्रह गरेको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै अन्नपूर्ण फेरोको थोराङलापास, लार्केपास, काङलापास, तिलिचो लगायतका क्षेत्रको पदयात्रा र विभिन्न हिमालको आरोहणका लागि आएका पर्यटकलाई सतर्क हुन आग्रह गरेको छ।
मौसमी जानकारी लिएर मात्र पदयात्रामा निस्कन पनि मनाङ प्रशासनले पर्यटकलाई अनुरोध गरेको छ । विपत् पूर्वतयारी र उद्धारका लागि उपकरण, आवश्यक स्वास्थ्यकर्मी र सामाग्री सहित सुरक्षाको जनशक्ति समेत थप गरिएको मनाङ प्रशासनको भनाई छ।
नेपाल मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको बताएको छ।
उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा गराउने अवस्था सिर्जना भएको विभागले बताएको छ।
विभागका अनुसार चक्रवातको प्रभाव बिहीबार बेलुकादेखि शनिवारसम्म रहनेछ, यद्यपि यसको गति र तीव्रता अनुसार वर्षाको मात्रा परिवर्तन हुन सक्ने पनि विभागको भनाई छ।
त्यस्तै कास्की प्रशासनले पनि सूचना जारी गर्दै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकोले पदयात्रामा ननिस्कन पदयात्रीलाई आग्रह गरेको छ।
पदयात्रामा निस्केका पर्यटकलाई सुरक्षित स्थानमा बस्न पनि प्रशासनले आग्रह गरेको छ।
त्यस्तै पर्यटन विभागले सूचना जारी गर्दै २०२६ को शरद ऋतु हिमाल आरोहण तथा पदयात्राका लागि अनुमति जारी भएकोले पर्वतारोही, पदयात्री तथा सहयोगी कर्मचारी गन्तव्यमा पुगेको साथै कतिपय पुग्ने क्रममा रहेकाले ती पाहुनालाई सचेत हुन आग्रह गरेको छ।
बुधबारदेखि आइतबारसम्म मुलुकका विभिन्न भागमा वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेकोले हिमपात हुनसक्ने पूर्वानुमान गरिएको विभागले जनाएको छ।
‘मौसमी प्रणालीमा असर देखिएमा पदयात्रा तथा हिमाल आरोहणका क्षेत्रहरू समेत प्रभावित हुने सम्भावना रहेको हुँदा पर्यटकलाई उच्च हिमाली भेगमा नजान अनुरोध गरेको छ,’ विभागले भनेको छ। त्यस्तै गन्तव्यमा पुगेको खण्डमा पाहुनालाई उच्च सतर्कता अपनाउन विभागको आग्रह छ।
विभागका अनुसार यो सिजनमा हिमाल आरोहणका लागि विभिन्न ४४ वटा हिमाल आरोहणका लागि १ सय ६१ वटा टिमले अनुमति लिएको बताएको छ।
ती टिममा १ हजार ६९ जना पुरुष र ३ सय ४१ जना महिला गरी १४ सय १० जनाले आरोहणका लागि अनुमति लिएको पनि विभागको भनाई छ।
विभिन्न ७६ वटा मुलुकका आरोहीले यो सिजनमा हिमाल आरोहणका लागि अनुमति लिएको पनि विभागको भनाई छ।
प्रकाशित: ११ कार्तिक २०८३ १८:१२ बुधबार





