धनुषा जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको अध्यक्षतामा बिहीबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका विभिन्न स्थानमा भएका प्रदर्शन, तोडफोड तथा आगजनीका घटनाबारे समीक्षा गर्दै शान्ति–सुरक्षा कायम गर्न कर्फ्यु लगाउने निर्णय गरेको हो। उक्त निर्णय स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ (क) बमोजिम गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार साउन १४ गते दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा वा घेराउ गर्न निषेध गरिएको छ।
आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।


प्रकाशित: १४ श्रावण २०८३ १५:०९ बिहीबार





