रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा जारी कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले भने, ‘जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण शान्ति सुरक्षा भङ्ग हुनसक्ने स्थितिलाई ध्यानमा राख्दै भदौ २४ गते बेलुका ८:३० बजे जारी कर्फ्यु आदेश आज बिहान ९:०० बजेबाट पुनः लागू गरिएको हो।’
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ‘क’ बमोजिम आज बेलुका ७:०० बजेसम्म रुपन्देही जिल्लाभर कर्फ्यु आदेश जारी रहने सूचनामा जनाइएको छ। यसअघि आज बिहान ७:०० बजेदेखि ९:०० बजेसम्म कर्फ्यु खुलेको थियो।
आदेश उल्लङ्घन गरी कसैले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गरे कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिने प्रशासनले जनाएको छ। कर्फ्यु जारी भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएका छन्।
प्रकाशित: २६ भाद्र २०८२ १०:२४ बिहीबार





