जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १६ गते बिहान ८:३० देखि बेलुका ५:०० बजेसम्मका लागि कर्फ्यु हटाइएको हो। यसअघि साउन १२ गते राति ९:०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको थियो।
कर्फ्यु हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम अर्को सूचना जारी नभएसम्म सम्बन्धित क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको प्रशासनले जनाएको छ।
निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र समावेश छन्।
प्रशासनले निषेधाज्ञाको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गर्दै सुरक्षा अवस्था र परिस्थितिको मूल्याङ्कनका आधारमा थप निर्णय गरिने जनाएको छ।
.jpg)
प्रकाशित: १६ श्रावण २०८३ ०८:५० शनिबार





