मंगलबार आक्रोशित प्रदर्शनकारीको तोडफोड र आगजनीको शिकार बनेको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास अहिले भग्नावशेषमा परिणत भएको छ।
कुनै बेला देशको शक्तिको केन्द्र मानिने यो भव्य भवन आज धुवाँको कालो र जलेका नोटको खरानीले छोपिएको छ। तर, यो विनाशको दृश्यलाई समेत बिर्साउने गरी सयौं मानिसहरु यहाँ ‘खजाना’ खोज्न भेला भएका छन्।

आगजनीको भोलिपल्ट बुधबार बिहानैदेखि देउवा निवासको भत्किएको गेटबाट मानिसहरूको ओइरो लाग्न सुरु भएको हो। मंगलबारको आक्रमणका क्रममा खिचिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
जसमा घरभित्रबाट पैसाका नोटहरू हावामा उडिरहेको देखिन्थ्यो। त्यही भिडियोले ‘देउवाको घरमा लुकाएर राखेको अकूत सम्पत्ति छ’ भन्ने हल्लालाई डढेलोझैँ फैलाइदियो, जसले गर्दा सर्वसाधारणको भीड जलेको घरको भग्नावशेषमा आफ्नो भाग्य खोज्न आइपुगेका हुन्।

खण्डहरमा परिणत निवास, जलेका नोट र सुनको खोजी
अहिले देउवा निवासको अवस्था कुनै युद्धग्रस्त क्षेत्रको भन्दा कम छैन। मुख्य फलामे गेट भत्काएर फालिएको छ। पार्किङमा राखिएका गाडीहरु जलेका छन्। घरको बाहिरी आवरण आगोको कालो धुवाँले पोतिएको छ भने भित्रका हरेक कोठा र तल्लाहरू ध्वस्त भएका छन्।

जलेका सोफा, फर्निचर, र कागजपत्र र नोटका थुप्रो जताततै देखिन्छ। यही विनाशको बीचमा, सयौं मानिसहरू निहुरिएर केही खोजिरहेका छन्।

भवनका विभिन्न तल्लामा हजार र पाँच सयका जलेका नोटका टुक्राहरू छरपस्ट देखिन्छन्। केहीले अमेरिकी डलरका जलेका अंशसमेत भेटेको बताएका छन्। भीडको मुख्य ध्यान भने तेस्रो तल्लामा रहेको भनिएको ‘बंकर’ वा पैसा राख्ने सुरक्षित कोठामा केन्द्रित छ।

उक्त कोठाको वरिपरि मानिसहरूले भुइँ र भित्तासमेत खोस्रिएर पैसा र बहुमूल्य धातुको खोजी गरिरहेका छन्।
‘बिहानैदेखि खोजिरहेको छु, जलेका पैसा त थुप्रै भेटेँ,’ नाम नबताउने सर्तमा एक अधवैंशे पुरुषले भने, ‘धेरैले सुनका टुक्राहरू पनि भेटेका छन् रे ! भाग्यमा भए केही त भेटिएला कि भनेर आएको।’
खोजीमा संलग्न हुनेहरूमा साना बालबालिकादेखि वृद्धवृद्धासम्म छन्। कोही दुई दिनदेखि लगातार यही भग्नावशेषमा आफ्नो भविष्य खोजिरहेका छन् भने कोही काठमाडौंका विभिन्न कुनाबाट घटना हेर्न र केही पाइन्छ कि भन्ने आशामा आएका छन्।

‘जेन जी’ पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु गरेको शान्तिपूर्ण आन्दोलन सोमबार प्रहरी दमनपछि हिंसात्मक बनेको थियो। दर्जनौं युवाको मृत्युपछि आक्रोशित प्रदर्शनकारीहरूले मंगलबार विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको निवासलाई निशाना बनाएका थिए। यही क्रममा सबैभन्दा ठूलो र संगठित आक्रमण देउवा निवासमा भएको थियो।
हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले सुरक्षा घेरा तोड्दै मुख्य गेट भत्काएर निवासभित्र प्रवेश गरेका थिए। उनीहरूले घरका सामान तोडफोड गर्दै अन्ततः आगो लगाइदिएका थिए। सोही क्रममा घरभित्रबाट पैसा उडेको भिडियो सार्वजनिक भएपछि आन्दोलनको प्रकृति एकाएक ‘खजाना खोज’ मा परिणत भएको देखिन्छ।
सयौं मानिसले त्यहाँ ‘लुट’ शैलीमा खोजी कार्य गरिरहँदा पनि घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति शून्यप्रायः छ। यहाँ प्रहरी र सेनाको उपस्थिति छैन। सुनका टुक्रा भेट्नेले एक अर्कासँग आफुले भेटेको दाबी गर्दै हानथाप गरिरहेका छन्।
हेराैं केही तस्बिरहरु। सबै तस्बिर: अमृत थापा/नागरिक


















प्रकाशित: २७ भाद्र २०८२ १७:४० शुक्रबार





